सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सरकारको कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई दिइएको छ । कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका मन्त्रालयमा खटाइएका कर्मचारी हाजिर हुन नआएका कारण दैनिक कामकाजमा समस्या भएको बताएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौं गएकावेला मन्त्री ज्वालालाई कार्यवाहक मुख्य मन्त्रीको जिम्मेवारी दिइएको छ । कावा मुख्यमन्त्री ज्वालाले संघिय सरकारले दरवन्दी अनुसार खटाइएका कर्मचारीहरु अभावका कारण ऐन नियमको मस्यौदा बनाउन कठिनाइ भएको बताए ।
यसैगरी कार्यवहाक मुख्यमन्त्री ज्वालाको संयोजकत्वमा अाइतबार वसेको वैठकले विभिन्न ६ बुँदे निर्णय समेत गरेको छ ।
बैठकले प्रदेशको कार्य संचालन नम्र्स र खर्च मितव्ययिता सम्बन्धी मापदण्ड तथा आचारसहिंता तयार गरी फागुन २४ गते भित्र प्रतिवेदन पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
ऐन नियम वा कार्यविधि तथा मार्ग निर्देशिका नबनेसम्म केन्द्र सरकारको मापदण्ड अनुसार कार्यान्वयन गर्ने, कार्यालय व्यवस्थापनका लागि कर्णाली प्रदेश अन्तरगत प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र सबै मन्त्रालयहरुले न्युनतम आधारभुत आवश्यकताको विवरण तयार गरी २ दिन भित्र विवरण पठाउन अनुरोध गरिने निर्णय गरेको छ ।
यसैगरी शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतले केन्द्र सरकारबाट प्रदेश मन्त्रालयको कार्यालय व्यवस्थापनका लागि प्राप्त अख्तियारी बमोजिम हालसम्म कर्णाली प्रदेश अन्तरगतका प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र सबै मन्त्रालयहरुको लागि कार्यालय व्यवस्थापननार्थ जिन्सि खरिद फर्निसिग फ्लोरिसिग, मर्मत संभार लगायतमा भए गरेको कार्यालयगत खर्च तथा कार्यको विवरण खुलाई ३ दिन भित्रमा आईपुग्ने यस मन्त्रालयमा पठाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
श्वेतपत्र तयार गर्नका लागि आवश्यक तथ्यांकहरु मन्त्रालयबाट आवश्यक पर्ने ढाँचामा उपलब्ध गराउन सबै मन्त्रालयहरुमा अनुरोध गर्ने निर्णय गरेको कावा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले जनाए । उनले चालु आ.व. को बजेट तयार गर्नका लागि सबै मन्त्रालयहरुको निति तथा कार्यक्रम आवश्यक पर्ने भएकाले सबै मन्त्रालयहरुसंग आ आफ्नो निति तथा कार्यक्रमको संक्षिप्त विवरण पेश गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रकाशित मिति: २० फाल्गुन २०७४, आईतवार १८:५७