सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार बसेको प्रदेशसभाको पाँचौ बैठकबाट विश्वासको बहुमत प्राप्त गरेका छन् ।
प्रदेशसभाको बैठकमा उपस्थित सांसदहरुमध्ये शाहीले ३१ मत प्राप्त गरेका छन् भने उनको विपक्षमा ६ मत परेको छ । एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएका थिएभने कांग्रेस र राप्रपाले विपक्षमा मतदान गरेका थिए ।
त्यसअघि मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिने प्रस्ताव राख्दै कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पक्ष विपक्ष नभनी एकभएर उभिनुपर्ने भएकोले विश्वासको मत दिन आग्रह गरेका थिए । उनले सवैभन्दा पहिलो प्रदेशको नामाकरण र स्थायी राजधानी तोकेर कर्णाली प्रदेश उदाहरणीय बन्न सफल भएको भन्दै अव यस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने, पारदर्शी र जनमुखी प्रशासनको अनुभूति दिलाउनुपर्ने, गरीव प्रदेशको उपमा हटाउनुपर्ने जस्ता महत्वपूर्ण कार्यभार भएकोले त्यसका लागि पक्ष विपक्ष नभनी एकभएर जानुको विकल्प नभएको बताए ।
मुख्यमन्त्री शाहीको प्रस्तावलाई एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रस्तावप्रति समर्थन रहेको जनाएका थिए । माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रतिपक्ष दललाई पनि साथमा लिएर हिंड्न मुख्यमन्त्री शाहीलाई सुझाव दिइन् ।
प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश समृद्धिका लागि प्रदेश सरकारप्रति विश्वास रहेको दोहोर्याउँदै सरकारलाई सचेत गराउन विपक्षमा उभिएको बताए । राप्रपाका सोशिला शाहीले पनि सरकारको निगरानी गर्न प्रतिपक्षमा बस्ने बताइन्।
प्रदेशसभाको अर्को बैठक अनिश्चितकालनका लागि स्थगित गरिएको छ । सभामुख राजबहादुर शाहीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराइएको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलवार १७:३४