सुर्खेत, १५ फागुन । नेपालकै लगानी र नयाँ पुस्ताको प्रविधि प्रयोग गरी नेपाली प्राविधिक कै रेखदेखमा निर्माण शुरु गरिएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम अबको १३ महिनामा पुरा हुने भएको छ ।
१२ किलोमिटर सुरुङ निर्माण गर्नु पर्ने यो आयोजनामा फागुन पहिलो हप्ता सम्म २ किलोमिटर ३ सय मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका इन्जिनियर प्रकाश पुडासैनीले जानकारी दिए । उनले सुरुङ खन्ने काम दैनिक २५ मिटरका दरले सम्पन्न भएको बताए ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अब १० किलोमिटर मात्रै सुरुङ खन्ने काम बांकी भएको र बीचमा कुनै अवरोध नआए अहिलेकै रफतारमा काम हुँदा १३ महिना भित्र पुरा हुने अनुमान गरिएको हो । सोचे अनुसार नै काम भएको हुनाले काम गर्नेलाई पनि उत्साह मिलेको इन्जिनियर पुडासैनीले बताए । उनले भने, ‘अहिलेसम्मको कामको प्रगति हेर्दा उत्साहपूर्ण छ, बीचमा अवरोध नआए समयमै काम पुरा हुन्छ ।’
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यलाई लामो समय देखि नजिकबाट नियालेका इन्जिनियर पुडासैनी पहिलो पटक प्रयोग भएको टनेल बोरिङ मेशिनले नेपालमा विकासको ढोका खुल्ने बताउँछन् । यो आयोजना सफल भए सडक, रेलमार्ग, सिंचाई र जलविधुत आयोजना निर्माण गर्न सहज हुने उनको भनाई छ ।
सिंचाई विभागले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै सुनकोशी–मारिन डाइभर्सन, सुनकोशी–कमला, कालीगण्डकी–तिनाउ, कालीगण्डकी–नवलपरासी, त्रिशुली–चितवन, भालुवाङ–कपिलवस्तु र मादी–दाङ गरी ७ वटा डाइभर्सन आयोजना पाइप लाइनमा राखेको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्नका लागि दैनिक २० हजार लिटर डिजल खपत भइरहेको र १० दिनका लागि मौजदात राखिएको इन्जिनियर पुडासैनीले जानकारी दिए । टीबीएम मार्फत सुरुङ खन्ने कामको जिम्ममा चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएकोछ ।
प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलवार ११:४५