सुर्खेत, १३ फागुन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले कर्णाली प्रदेशमा अरु प्रदेश भन्दा धेरै अशिक्षा, गरिबी प्रदेश भएकाले यसलाई जरैबाट निर्मुल पार्न नसकिएपनि केही प्रतिशतमा घटाउन सकिने बताएका छन् । उनले कर्णाली प्रदेशमा शिक्षामा गुणस्तरियता ल्याउनका लागि कांंग्रेसले जस्तोसुकै अवस्थामा पनि साथ दिने कुरामा जोड दिए ।
आइतबार वीरेन्द्रनगरमा भएको नेपाल शिक्षक संघको कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै कांग्रेस केन्द्रिय सदस्य थानीले सो
कुरामा जोड दिएका हुन् । उनले शिक्षामा गुणस्तरियता भएन भन्ने कुरा गर्नुभन्दा पनि त्यसका लागि स्रोत साधन जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै कुरा मात्रै भन्दा काम गरेर देखाउन सबै शिक्षकहरुलाई आग्रह गरेका थिए ।
उनले अखण्ड मध्यपश्चिमका लागि आन्दोलन गरेर प्रदेश नं. ६ लाई नामाकरण गरेर आज कर्णाली प्रदेशका बासीन्दा हुन पाएकोमा खुसी व्यक्त गर्दै कर्णालीबासीहरुलाई बधाईको पात्र भएको बताए ।
यस्तै कार्यक्रममा सांसद हिमबहादुर शाहीले शिक्षामा राजनीति भन्दा पनि विद्यार्थीहरुलाई शिक्षा दिन जरुरी रहेको बताए । उनले सबै शिक्षकले आफ्नो कर्तव्य, निष्ठा कहिले भुल्न नहुने भन्दै गुणस्तरियताका कुरा भन्दा पनि आफैले शिक्षामा गुणस्तरता बढाउनुपर्ने जनाए । सांसद शाहीले शिक्षामा त्यो पार्टी र यो पार्टी भन्दा पनि विद्यार्थीलाई कसरी शिक्षा दिँदा राम्रो होला भन्ने कुरामा ज्ञान हुन जरुरी रहेको बताए । आफ्नो हक र हितका लागि आफै लड्नु पर्ने बताउँदै उनले जुन पार्टीमा लागेपनी आफ्नो योग्यता र कर्तव्य नभुल्न समेत सांसद शाहीले आग्रह गरे ।
यस्तै नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष तिर्थजंग शाहीले सरकारी विद्यालयका विद्यार्थीलाई अंग्रेजीमा पढ्न सजीलोका लागि प्रत्येक सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि अनिवार्य रुपमा शिक्षकको व्यवस्था गर्न आग्रह गरे । उनले सरकारी विद्यालयमा पढेका विद्यार्थी र नीजि विद्यालयमा विद्यार्थीको गुणस्तरीयता बारे बहस र छलफल गर्ने बेला आएको बताए ।
नेपाल शिक्षक संघको कर्णाली प्रदेश संयोजक इलमबहादुर शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद दीनबन्धु श्रेष्ठ, सांसद यज्ञबहादुर बि.सी., सांसद अमृता शाही, नगरप्रमुख देवकुमार सुवेदी, नेपाली कांग्रेसका पार्टी सभापति कमलराज रेग्मी, जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह, नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष झकबहादुर डांगी, नेपाल शिक्षक संघका उपाध्यक्ष दिलबहादुर रावल लगायतले गुणस्तरीय शिक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।
खबरइरामा विज्ञापन गर्न चाहनु हुन्छ भने अजै सम्पर्क गर्नुस
मोब. ९८०२६५००१०
Email- khabarera@gmail.com
facebook page- Khabarera Like गर्नुहोला
प्रकाशित मिति: १३ फाल्गुन २०७४, आईतवार १९:२३