सुर्खेत, १२ फागुन । ६ नं. प्रदेशसभाको शनिवार सम्पन्न चौथो बैठकले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर सुर्खेतलाई दुई तिहाईभन्दा बढी मतले घोषणा गरेको छ । प्रदेश नामाकरणमा कूल ४० प्रदेश सांसदमध्ये कर्णाली प्रदेशमा समर्थन जनाउँदै ३७ मत खसेको थियो ।
कांग्रेसका झोवा विक पारिवारिक समस्याका कारण र एमालेका चन्द्रबहादुर शाही काठमाडौंमा रहेका कारण उपस्थित हुनसकेका थिएनभने सभामुख राजबहादुर शाही मतदान गरेनन् । त्यसैगरी प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर सुर्खेतको पक्षमा ३६ मत खसेको थियोभने राप्रपाका सोशिला शाहीले विपक्षमा मतदान गरेकी थिइन् ।
प्रदेश नामाकरणको विषयमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्नुपर्ने प्रस्ताव गरेका थिए भने कँडेलको प्रस्तावमा कांग्रेसका दीनवन्धु श्रेष्ठ, माओवादी केन्द्रका वीरबहादुर शाही र राप्रपाका सोशिला शाहीले समर्थन जनाएका थिए । यस्तै प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर सुर्खेत हुनुपर्ने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राखेको प्रस्तावमा एमाले संसदीय दलका सचेतक गुलावजंग शाह र माओवादीका गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।
प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्ने अधिकार प्रदेश संसदलाई दिइएको थियो । प्रदेश संसदको दुई तिहाई बहुमतले प्रदेश नामाकरण र स्थायी केन्द्र तोक्ने अधिकार अनुसार ६ नं. प्रदेशको चौथो बैठकले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर सुर्खेत प्रदेश सांसदको दुई तिहाई भन्दा बढी मतले पारित गरी घोषणा भएको सभामुख राजबहादुर शाहीले जानकारी गराए । कौशिला खत्री, सीता नेपाली, पदमबहादुर रोकाय, कृष्णा शाह र दानसिंह परियारले प्रदेशको नामाकरण कर्णालीप्रति समर्थन जनाउँदै अव कर्णालीको सभ्यता राष्टिूय र अन्तर्राष्टिूय रुपमै परिचित हुने बताए ।
त्यसैगरी अमरबहादुर थापा, यज्ञबहादुर विसी, नरेश भण्डारी, धर्मराज रेग्मी, कुर्मराज शाही, देवी वली, विन्दमान विष्ट र ठम्मरबहादुर विष्टले प्रदेश स्थायी राजधानी वीरेन्द्रनगर सुर्खेत भौतिक पूर्वाधार, सुगमतालगायत धेरै कारणले उपयुक्त भएकोले सुर्खेतप्रति समर्थन जनाएका थिए ।
प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार १८:२८