नुवाकोट, १२ फागुन । जिल्लाको दुर्गम दुप्चेश्वर गाउँपालिकामा महिलाको पाठेघरको उपचारकाे शिविर सञ्चालन गरी नागरिकलार्इ स्वास्थ्य उपचार पहुँच अभियानकाे सुरुवात गरिएको छ ।
गाउँपालिकाद्वारा सञ्चालन गरिएको साताव्यापी ‘पाठेघर खस्ने स्वास्थ्य शिविर एवं क्यान्सरसम्बन्धी जनचेतना’ कार्यक्रममा ती महिलाको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।
पाँच वर्षमा सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने अभियानअन्तर्गत समाजमा विद्यमान लुकेका तथा लुकाइएका पाठेघर रोगसम्बन्धी उपचारका लागि बस्तीमा नै पुगेर बिरामीको परीक्षण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
सो गाउँपालिकाका सातवटै वडामा पुगेर डा. सरस्वती तामाङ र डा. निर्मला रिमालसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले महिलालाई पाठेघर खस्ने र स्तनक्यान्सरसम्बधी परीक्षण तथा यससम्बन्धी जनचेतनामूलक खुल्ला कक्षा सञ्चालन गरिएको थियो । शिविरमा ९२८ महिलाकाे पाठेघरको उपचार गरिएकाे थियाे ।
परीक्षणका क्रममा १७ जना महिलाको पाठेघरमा संक्रमण भइसकेको पाइएकाले शल्यक्रिया गराउन उनीहरुलाई काठमाडौं लैजाने अध्यक्ष तामाङले बताए । “रोग लागेमा उपचारको पहुँचमा नभएका र भएकाले पनि लाजका कारण लुकाउँदै आउने गरेको जानकारीका आधारमा बस्ती–बस्तीमा पुगेर शिविर चलाएका छौँ,” उनले भने “सामान्य प्रकृतिका बिरामीलाई औषधि उपलब्ध गराएको र गम्भीर तथा संवेदनशील देखिएकालाई गाउँपालिकाको खर्चमा उपचार गराउन काठमाडौं लैजान लागिएको छ ।”
शिविरमार्फत पाठेघर र स्तन क्यान्सर सम्बन्धी जनचेतनासमेत गराइएकाले क्रमशः जागरुक हुँदै बिरामी आफैँ पनि अब उपचारतर्फ लाग्न सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताइन् ।
“संक्रमण भएर पनि लुकेका र लुकाइएका रोग पाठेघर र स्तनक्यान्सर भएकाले यस सम्बन्धी उपचार सेवा शुरु गरेका हौँ,” आचार्यले भनिन् “अझै धेरै संख्याका बिरामी सम्पर्कमा आउन बाँकी हुनसक्छन, उनीहरुका लागी वार्षिकरुपमा शिविर सञ्चालन गर्ने सोच बनाएका छौं ।”
जिल्लाकै दुगर्म क्षेत्र, शैक्षिकरुपमा कमजोर स्थित, जनचेतनाको अभावका कारण रोगसम्बन्धी जानकारी नभएका र भएकाले पनि बेवास्ता गर्दै आएकालाई उपचारभन्दा पनि पहिलो चरणमा सचेतनामा जोड दिइएको छ ।
उक्त शिविर सञ्चालनमा गाउँपालिकाको रु सात लाख खर्च भएको र प्राविधिकतर्फको जनशक्ति मेरी स्टोप्स सर्भिसेजले उपलब्ध गराएको जनाएको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार १५:५८