नेपाली चेली अमृता आचार्यले हलिउडमा शानदार प्रवेश गरेकी छिन् । कुनैबेला पश्चिम नेपालको अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खाैली घरगाउँका स्थानीय भाकामा नाँचि हिड्ने अमृता अाज हलिउडमा जमेर यो संसारमा केही पनि अचम्म छैन भन्ने प्रमाणित गरिरहेकी छिन् ।
युरोपमा नाम कमाएका नेपाली मुलका चिकित्सक प्रा. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यकी छाेरी हुन् अमृता । ३० वर्षअघि जन्मिएकी उनकाे बाल्यकाल नेपालमै बितेकाे थियाे । लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स (एएलआरए ) बाट नाटक अभिनय कलामा स्नातक गरेकी अमृताले अाफ्नाे कर्मभूमी भने अमेरिका, बेलायत र नर्वेलार्इ बनाएकी छिन् ।
अमृताको मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटीभीको मेडिकल ड्रामा सो `द गुड कर्म हस्पिटल’ एक लोकप्रिय ड्रामा शो हो।
प्रख्यात अमेरिकी टेलिभिजन (एचबिओ) शृंखला ‘गेम अफ थ्रोन’ मा महारानीकी सुसारे ‘इर्री’ को भूमिकाबाट ब्यवसायिक अभिनय यात्रामा पाइला टेकेकी अमृता ‘द गुड कर्म हस्पिटल’ मा भने ब्रिटिस-एसियन जुनियर डाक्टर रूबी वाल्करको भूमिकामा छिन्।
एकल महिला मीनाको प्रमुख भूमिका रहेको अमृता अभिनित नर्वेली फिल्म ‘याई आर दिन्’ (म तिम्रो हो) नर्वेबाट सन् २०१३ मा ओस्कारको लागि मनोनयनमा परेको थियो। सन् २०१४ मा अमृताद्वारा आभिनित अर्को नर्वेली फिल्म ‘दोद स्नो -२’ अमेरिकी सुन्डान्स फिल्म फेस्टिबलमा प्रदर्शनी गरिएको थियो।
हाल नर्वेको टिभी-२ द्वारा प्रसारित लोकप्रिय धारावाहिक फ़्रिच्येन्त (सफाइ) मा अमृताको सरकारी वकिलको भूमिका छ। झन्डै ७७ करोड रुपैयामा निर्मित उक्त धारावाहिक जर्मनी, फ्रान्स, ब्रिटेन र न्युजिल्याण्डलगायत २१ वटा राष्ट्रमा प्रसारणको लागि बिक्रि भएको छ। यसबाहेक उनले ब्रिटिस रोमान्टिक कमेडी ‘अमर, अकबर र टोनी’ मा समेत अभिनय गरेकी छिन्।
सानो छँदा नेपाल गाउँमा हजुरबा, आमाको घर गएको र आफन्त र साथीसंगीसँग रमाइलो गरेको याद कहिल्यै भुल्न नसक्ने अमृता भन्छिन्, उपयुक्त समय, कथा र भूमिका पाए नेपालमा पनि काम गर्न इच्छुक छु ।
साभार : ग्लाेबल भूट्निज
प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार १३:४५