माले, ७ फागुन । मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन् ।
मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन् । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दियो ।
उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने भएको थियो । तर राष्ट्रपति अब्दुल्लाह यामिन उनीहरुलाई रिहा गर्न नचाहेकाले यहाँ अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको हो ।
अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीलाई रिहा गर्नुपर्ने भएपछि उनी त्यो निर्णयसँग डराए र सर्वाेच्च अदालतको आदेशको कार्यान्वयन नगर्न आदेश दिनुको साथै प्रधानन्यायाधीशलाई नै पक्राउ गरे ।
मालदिभ्स्मा उत्पन्न राजनीतिक संकटका कारण यहाँ हाल सैनिक परिचालन गरिएको छ । संकटकालीन अवस्थाको घोषणा सोमबार सकिने बताइएको थियो ।
सोमबार नै राष्ट्रपतिले उक्त संकटकालीन अवस्थालाई लम्ब्याउन आग्रह गरेका हुन् ।
राष्ट्रपतिले आफूमाथि संसद्मा महाभियोग लाग्न सक्ने त्रास जीवितै रहेको अवस्था देखेकाले त्यहाँ संकटकालको घोषणा गरेका हुन् ।
प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार १७:४६