सुर्खेत, ५ फागुन । प्रदेश नं. ६ को प्रदेशसभाको शनिबार सम्पन्न तेस्रो बैठकले उपसभामुखी चयन गरेको छ । बैठक सुरु हुनासाथ सभामुख राजबहादुर शाहीले धर्मराज रेग्मीलाई पुष्पा घर्ती विष्टलाई उपसभामुखमा निर्वाचित गर्ने प्रस्ताव राख्न भनेका थिए । सो प्रस्तावको मीनासिंह रखालले समर्थन जनाएका थिए ।
उपसभामुख पदमा घर्तीको मात्र उम्मेदवारी परेकोले सभामुख शाहीले घर्तीलाई प्रदेश नं. ६ को प्रदेशसभाको उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । बैठकले दुई वटा प्रस्ताव समेत पारित गरेको छ । सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक संचालनका लागि पाँच जना सांसद सम्मिलित एउटा समिति निर्माण गरिएको छ । जसमा गणेशबहादुर सिंह, दिनवन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशिला शाही छन् ।
त्यसैगरी प्रदेशसभा नियमावली २०७४ को मस्यौदा समिति पनि गठन गरिएको छ । प्रदेश सदस्य अमरबहादुर थापाले प्रस्तुत गरेको सो मस्यौदा समितिको प्रस्तावमाथि माओवादी केन्द्रका नरेश भण्डारी र कांग्रेसका अमृता शाहीले समर्थन जनाएका थिए । साे समितिमा दल रावल, दिनवन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मिनासिंह रखाल, यज्ञबहादुर विसी, सीता नेपाली र सोशिला शाही रहेका छन् ।
मस्यौदा समितिको प्रस्तावलाई पनि बैठकले सर्वसम्मत पारित गरेको जानकारी सभामुख राजबहादुर शाहीले दिए । मस्यौदा तयार गर्न १५ दिनको समय दिइएको समितिले सभामुखको निर्देशन अनुसार काम गर्ने जनाइएको छ । अर्को बैठक यही फागुन ९ गते बुधवार अपरान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार १६:३२