काठमाडौं, २८ माघ । सरकारले चियाको उत्पादन, प्रशोधन र बजारीकरणलाई वृद्धि गर्ने उद्देश्यका साथ चिया गणना कार्यक्रम–२०७४ संचालनमा ल्याएको छ।
फाइल फाेटाेराष्ट्रिय चिया तथा कफी विकास बोर्डले केन्द्रिय तथ्यांक विभागको सहयोगमा चिया गणना कार्यक्रम सूरु गरेको हो । ४० जना चियाका गणकहरुलाई नियुक्ती गरेर देशभर चिया गणना कार्यक्रम संचालन गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले चियाको उत्पादन, प्रशोधन र बजारीकरण वृद्धि गर्ने उद्देश्यका साथ यसको यथार्थपरक तथ्यांक संकलन गर्न चिया गणना कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पारे ।
नेपालमा उत्पादन भएका चियाको माग विश्व बजारमा बढदै गएको छ । सोही माग धान्ने गरी उत्पादन बढाउन सरकारले चिया गणना कार्यक्रमलाई अध्यावधिक गरेको हो । गणकहरुले चियाको उत्पादन र त्यसले दिएको रोजगारीलगायतका तथ्यांक पनि संकलन गर्नेछन् । ९० प्रतिशत नेपाली चिया भारतमा निर्यात हुने गरेको छ ।
त्यसैगरी तेस्रो मुलुकमा पनि नेपाली चियाको निर्यात हुने गरेको छ । विश्व बजारमा नेपाली चियाको माग बढदै गएकाले सोही मागलाई धान्ने गरी उत्पादन बढाउन पनि चिया गणना कार्यक्रम सहयोगी हुने बोर्डका कार्यकारी निर्देशक गौतमले बताए ।
चिया गणनाले चियाको भावी नीति तथा योजना तर्जुमा गर्न पनि सहयोग पुग्ने बोर्डको भनाई छ । चिया उत्पादन बढाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि गणनाले महत्वपूर्ण योगदान दिने कार्यकारी निर्देशक गौतमले बताए ।
नेपालका वार्षिक ५० लाख केजी चिया उत्पादन हुने गरेको छ । जसमध्ये ९० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्याय हुने गरेको पनि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ । बोर्डले नेपालबाट वार्षिक ३ अरव बराबरको चिया निर्यात हुने गरेको पनि स्पष्ट पारेको छ । चियाको उत्पादनबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि गरिएको छ ।
प्रकाशित मिति: २८ माघ २०७४, आईतवार १४:५४