वुटवल २६ माघ । सात प्रदेशमध्ये सबैभन्दा चाँडो संसदीय दलको नेता छानेको प्रदेश ५ मा एमाले जतिसक्दो चाँडो सरकार गठन गर्न चाहन्छ । तर, वाम गठबन्धनमा रहेको सहकर्मी माओवादीका कारण ढिलाइ भइरहेको छ । सभामुख चयनपछि मात्रै सरकार गठन गर्ने माओवादीको योजना छ ।
एमालेले संसदीय दलको नेतामा शंकर पोखरेललाई सर्वसम्मत चयन गरिसकेको छ । माओवादीले संसदीय दलको नेता टुंग्याएमा शुक्रबार प्रदेश प्रमुखलाई लिखित पत्र दिँदै आइतबार तीन सदस्यीय सरकार गठन गर्ने तयारी एमालेको थियो । तर, बिहीबार दाङमा बसेको माओवादीको प्रदेश सचिवालय बैठकले २ फागुनमा सभामुख चयन भएपछि मात्र प्रदेश सरकार गठनको गृहकार्य गर्ने भएको निर्णय गरेको छ ।
‘हामीले दलको नेताको नाम लगभग टुंगो लगाएका छौँ । अब २८ माघमा संसदीय दलको बैठक बसेर नेताको औपचारिक घोषणा गर्छौँ,’ माओवादी सांसद वसन्त घर्तीले नयाँ पत्रिकासँग भने, ‘हाम्रो दलको नेता औपचारिक रूपमा चयन भएपछि २ फागुनमा सभामुखको निर्वाचन हुन्छ र त्यसपछि मुुख्यमन्त्री चयन र सरकार विस्तार गर्ने माओवादीको तयारी छ ।’
तर, एमाले सांसद बैजनाथ चौधरीले माओवादीले नेता छानिसकेको दाबी गरे । ‘सुरुमा मुख्यमन्त्री आइतबारसम्म चयन गरेर एमाले र माओवादीका एक–एक मन्त्री तत्काल बनाएर काम सुरु गरिहालौँ भन्ने हाम्रो तयारी हो,’ चौधरीले भने, ‘माओवादीले दलको नेता कुलप्रसाद केसी सोनामलाई बनाएको सूचना पाएका छौँ । उहाँ रोल्पाबाट शुक्रबार दिउँसोसम्म आउनुभयो भने हामी सरकारका लागि दबाब दिन्छौँ ।’ एमालेले हतार गरे पनि आफूहरू सभामुख चयन गरेपछि मात्र सरकार गठन गर्ने पक्षमा रहेको नेता घर्तीले बताए ।
सोनाम माओवादी संसदीय दलको नेता, औपचारिक टुंगो २८ माघमा
माओवादीले कुलप्रसाद केसी सोनामलाई प्रदेश ५ को दलको नेता बनाउने भएको छ । बिहीबार बसेको बैठकले सोनामको नाम सर्वसम्मत रूपमा टुंग्याएको हो । तर, २८ माघमा बुटवलमा बस्ने संसदीय दलको बैठकले मात्र उनको नामलाई अनुमोदन गर्नेछ । प्रदेश ५ मा एमालेले माओवादीसँग मिलेर सरकार बनाउने तयारी गरेको छ ।
प्रदेश सरकारबारे संविधानको व्यवस्था यस्तो छ
संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ’ भन्ने उल्लेख छ ।
उपधारा (२)मा ‘उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ । यसरी नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
सभामुखका लागि बराल र घर्ती
मुख्यमन्त्री एमालेले लिने भएपछि सभामुख माओवादीको भागमा परेको छ । माओवादीले रुकुमका पूर्ण घर्ती र गुल्मीका सुदर्शन बरालमध्ये एकलाई सभामुख बनाउने तयारी गरेको छ । घर्ती सिनियर भए पनि कानुन पढेका बरालको सम्भावना बढी छ । रोल्पाका सोनामलाई दलको नेता बनाएपछि भूगोल मिलाउन गुल्मीका बराललाई सभामुख बनाउने तयारीमा माओवादी रहेको प्रदेशका एक सांसदले जानकारी दिए ।
वर्षमानले के भनेका थिए दाङमा
माओवादी प्रदेश ५ का इन्चार्ज वर्षमान पुनले दाङको बैठकमा राष्ट्रिय राजनीतिको विषयमा ब्रिफिङ गरेका थिए । एमालेसँग एकताबारे शीर्ष तहमा छलफल भएको भन्दै उनले ‘पहिले सभामुखको निर्वाचन गरेपछि अरू विषय पनि टुंगिँदै जाने’ बताएको एक सांसदले जानकारी दिए ।
दुवै दलमा मन्त्रीका दाबेदारको ताँती
एमालेले सरकार बनाउन हतार गरे पनि बढीमा नौजनासम्म मन्त्री बनाउने तयारी दुई दलको छ । मन्त्रीका लागि दुई दलबाट एक÷एक दर्जनभन्दा बढी नेताको दाबेदारी देखिएको छ ।
यी हुन् एमालेका दाबेदार
एमालेबाट मन्त्रीको चर्चामा नवलपरासीका बैजनाथ चौधरी, कपिलवस्तुबाट विष्णु पन्थी, रूपन्देहीका लीला गिरी, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे मुख्य दाबेदार देखिएका छन् । महिलाबाट बर्दियाकी कृष्णी थारू र रुपन्देहीकी विमला पन्थी पनि दाबेदार हुन् । एमालेबाट भूमिश्वर ढकाल, कमल श्रेष्ठ र भगवती भण्डारीले पनि मन्त्रीका लागि दाबेदारी गरेको एक सांसदले जानकारी दिए ।
‘मुख्यमन्त्रीमा शंकर पोखरेल उम्मेदार नबन्दासम्म म सिनियर थिएँ । शंकरजी आएपछि, उहाँपछिको वरीयतामा मै हुँ, कुन मन्त्रालय भन्ने छैन, तर मुख्यमन्त्रीपछिको वरीयतामा मै हुनुुपर्छ,’ सांसद चौधरीले भने । गृह अथवा जुन मन्त्रालय दिए पनि मुख्यमन्त्रीपछिको वरीयतामा उनको दाबेदारी छ । एमाले केन्द्रीय लेखा आयोगमा सदस्य भइसकेका पन्थीले अर्थ मन्त्रालयमा दाबेदारी दिएका छन् । ‘५ नम्बर प्रदेशलाई समृद्ध र धनी बनाउनुपर्छ,’ उनले भने, ‘क्षमता, योग्यता, राम्रोसँग चलाउन सक्छु भन्ने छ । त्यसैले मेरो दाबेदारी अर्थ मन्त्रालयमा छ ।’
यी हुन् माओवादीका दाबेदार
माओवादी पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, पाल्पाका वसन्त घर्ती, प्युठानका कृष्णध्वज खड्का, दाङकी दामा शर्मा र इन्द्रजित चौधरी, बर्दियाका तिलकराम शर्मा, रुकुमका तेजबहादुर ओली मन्त्रीका दाबेदार हुन् । एमाले र माओवादीबीच सरकारमा ७० र ३० प्रतिशत मन्त्रालय लिने मोटामोटी सहमति भए पनि आफूहरूका धेरै सिनियर नेता भएको भन्दै माओवादीले यो सहमतिमा चित्त नबुझाउने संकेत गरेको छ ।
‘हामीले यो प्रदेशमा राम्रै जितेका छौँ, यो हाम्रो आधार इलाका पनि हो,’ माओवादी सांसद दामा शर्माले भनिन्, ‘यसैले पनि हामी यो प्रतिशतमा चित्त बुझाउने पक्षमा छैनौँ । थप मन्त्रालय चाहिन्छ ।’ तीन मन्त्री पाएमा माओवादीले साबिकका राप्ती, भेरी र लुम्बिनीबाट एक–एकजनालाई मन्त्री बनाउने तयारी गरेको छ ।
सुरुमै तीन सदस्यीय मन्त्रिपरिष्दको तयारी
एमालेले बिहीबार माओवादीले संसदीय दलको नेता चयन गरेमा शुक्रबार प्रदेश प्रमुख उमाकान्त झालाई सरकार गठनका लागि दुई दलको तर्फबाट लिखित पत्र दिने र आइतबार मुख्यमन्त्रीका रूपमा शंकर पोखरेलले शपथ लिने तयारी गरेको थियो । आफूले शपथ लिएपछि पोखरेलले एमालेका एक र माओवादीका एक मन्त्री बनाउने तयारी गरेका थिए । यद्यपि, आइतबार नभए सोमबारसम्म भए पनि सरकार गठन गर्ने एमालेले जनाएको छ ।
भावी मुख्यमन्त्री भन्छन् दुई–तीन दिनमा टुंगो लगाउँछौँ
एमाले संसदीय दलका नेता शंकर पोखरेल माओवादीसँग छलफल गर्न दाङबाट बुटवल आइसकेका छन् । माओवादीले दलको नेता टुंगो लगाइसकेको भन्दै अब एक–दुई दिनमा सरकार गठन गर्ने दाबी उनले गरे । ‘उहाँहरूले दलको नेतामा सोनामको नाम टुंगो लगाइसक्नुभएको छ । हामी शुक्रबार उहाँहरूसँग छलफल गरेपछि आइतबार सरकारका लागि प्रदेश प्रमुखसँग लिखित आग्रह गर्छौँ,’ पोखरेलले भने, ‘अब केही दिनमै सानो आकारको मन्त्रिमण्डल बनाउँछौँ ।’
यसरी हुँदै छ शपथको तयारी
मुख्यमन्त्री चयन हुनासाथ प्रदेश प्रमुखको सचिवालयले शपथको तयारी गरेको छ । त्यस्तै, मुख्यमन्त्री र मन्त्रीहरूको कार्यकक्षको व्यवस्थापन पनि गरिरहेको छ । दुवै दलले मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार प्रदेश प्रमुखसमक्ष लिखित दाबी पेस गरेमा आइतबार शपथ गराउने तयारीमा प्रदेश प्रमुख सचिवालयले लागेको छ ।
प्रदेश प्रमुख उमाकान्त झाले शपथका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको बताए । ‘शुक्रबार लिखित आए, आइतबार शपथ गराउन सक्छौँ,’ उनले भने । मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रीहरूको कार्यकक्षको तयारीका सम्बन्धमा पनि प्रदेश प्रमुख झाले चासो राख्दै आएका छन् ।
६ तले भवनमा मुख्यमन्त्रीको कार्यालय
बुटवल–४ दरबारमार्गमा रहेको श्रम कार्यालयको ६ तले भवनमा मुख्यमन्त्रीको कार्यालय तय गरिएको छ । चौथो र पाँचौँ तलामा मुख्यमन्त्रीको कार्यालय राखिएको छ । चौथोमा मन्त्रिपरिषद्को सचिवालय र पाँचौँमा मुख्यमन्त्रीको कार्यकक्ष रहनेछ । मुख्यमन्त्री कार्यालयका सचिव दीपेन्द्र काफ्लेले शुक्रबारसम्ममा विद्युत् र टेलिफोन जडान गरिने बताए । मुख्यमन्त्रीको कार्यकक्षमा कार्पेट बिछ्याउने तथा फर्निचर व्यवस्थापन गर्ने कामबाहेक अन्य काम लगभग सकिएको उनले बताए ।
मुख्यमन्त्री कार्यालयको भवनमा थप तीन मन्त्रालय
६ तले भवन लिफ्टसहितको छ । लिफ्ट सञ्चालनमा आउन अझै केही दिन लाग्नेछ । यस भवनको भुइँतलामा आर्थिक मामिला तथा योजना, दोस्रो तलामा उद्योग पर्यटन वन तथा वातावरण, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा तथा सामाजिक विकास मन्त्रालय सीप विकास केन्द्रको भवनमा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोतको भवनमा राखिने गरी काम भइरहेको छ ।
अधिकांश कर्मचारी आएनन्
प्रदेश मुकाम बुटवलमा खटिएका अधिकांश कर्मचारी अझै हाजिर भएका छैनन् । खटिएका कर्मचारीमध्ये निकै कम मात्र हाजिर भएका छन् । प्रमुख सचिव शंकरप्रसाद पाठक, मुख्यमन्त्री कार्यालयका सचिव दीपेन्द्र काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भटराई, भूमि व्यवस्था, कृषि तथा सहकारीका सचिव यमनारायण देवकोटा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलसहितका कर्मचारी भने हाजिर भइसकेका छन् ।
प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार ०७:५५