पोखरा, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताएका छन् ।
पुम्दीकोट विकास समितिद्वारा आज आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत तथा सम्मान कार्यक्रममा उनले राजनीतिक विवादलाई थन्क्याएर विकासका लागि जुट्नुपर्ने बेला आएको बताए ।
राजनीतिक आन्दोलनको सफलतासँगै देशले संविधान प्राप्त गरेको बताउँदै उनले संविधानमा लेखिएअनुसार अघि बढ्नु आवश्यक रहेकोमा जोड दिए ।
पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले प्रकृतिको राजधानी प्रदेश नं ४ लाई समृद्ध बनाउने धेरै सम्भावना रहेको उल्लेख गरे ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पुम्दीकोट धेरै सम्भावनायुक्त स्थल भएको बताउँदै समग्र प्रदेश नं ४ लाई धार्मिक पर्यटनको उत्कृष्ट स्थल बनाउन सकिने उल्लेख गरे ।
आगामी फागुन ७ गते आसपासमा बामपन्थीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा कुनै विवाद नभएको उनको भनाइ थियो ।
नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले राजनीतिक संघर्षको चरण समाप्त भइसकेको बताउँदै विकासमा भने धेरै पछि परेको धारणा राखे । विकासका लागि हाम्रो कार्यशैली र चिन्तनमा परिवर्तन आउनु आवश्यक भएकोमा उनको जोड थियाे ।
नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले नेपालका सुन्दर प्राकृतिक स्थलहरू धेरै सम्भावना रहेपनि पछि परेको बताउँदै यसको विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए । मुक्तिनाथदेखि कालीगण्डकी कोरिडोर हुँदै यस प्रदेशको विकासका धेरै सम्भावना रहेको बताउँदै नेता शर्माले पुम्दीकोट जस्ता स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उल्लेख गरे ।
प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले प्रदेश नं ४ मा रहेका सबै सम्भावनालाई उपयोग गर्दै यसलाई समृद्धिको बाटोमा लैजाने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगत विश्वकर्मा, प्रदेशसभा सदस्यहरू राजीव पहारी, रामजीप्रसाद बराल (जीवन), किरण गुरुङ, काँग्रेस नेता शुक्तराज शर्मा, पोखरालेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललगायतले विधितायुक्त समाजमा युगौंदेखिको सद्भाव तथा एकता कायम राख्नु पर्ने धारणा राखेका थिए । उनीहरूले पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बरालले निर्माण अभियानले पोखरा आसपासका क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको बताउँदै निर्माण अभियानलाई साकार पार्न सहयोगको अपेक्षा गरे ।
प्रकाशित मिति: २३ माघ २०७४, मंगलवार २०:०७