काठमाडौँ, २० माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक कामिनीराज भण्डारीको नेतृत्वमा ४०० भन्दा बढी कर्मचारीको उपस्थिति थियो । सफाइमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालीम लिइरहेका ८८ जना पनि सहभागी भए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०८ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
रुद्रमती सफाइको २०३ औँ हप्तामा रातोपुल–गौशाला–पुरानोबानेश्वर–सेतोपुल हुँदै रातोपुलसम्म जनचेतनामूलक सफाइ अभियान गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
आगामी हप्ता सफाइ अभियानले २०० हप्ता पार गरेकामा नदीका १० स्थानमा छिरेर विशेष सफाइ गरिने भएको छ ।
विष्णुमती सफाइको १७५ औँ हप्तामा तारकेश्वर नगरपालिका–९ मनमैँजु पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता वीजेन्द्र लामाले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट विष्णुमती सफाइ अभियान हेर्न खटिएका सञ्चालक समिति सदस्य वीरेन्द्रप्रसाद थपलियासहित २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
चक्रपथ सफाइको ४३ औँ हप्तामा गोपीकृष्ण हलअघिबाट सुकेधारासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८२ वर्षीय वृद्ध तोयनाथ पौडेलको पनि सहभागिता थियो । विकसित देशका मानिस चन्द्रमामा टेकिसकेका बेला नेपालीले आफ्नो नगर सफाइमै दिन बिताउनु १७ औँ शताब्दीमा फर्किएको विचार उनले राखे ।
सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताल लगायतका गरी ६०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताए ।
चक्रपथको बाफल खण्ड सफाइको २५ औँ हप्तामा सितापाइलाबाट स्यूचाटारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रको सफाइ अभियानले २५ हप्ता पार गरेको अवसरमा निरन्तर सहभागिता जनाउने व्यक्तित्वलाई सम्मान पनि गरियो ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, नेपाली सेनाको युद्ध कवच गणका कर्णेल विजय केसी, काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिबहादुर कुँवर, निर्माण व्यवसायीद्वय जयराम लामिछाने र रमेश शर्मा लगायतलाई सम्मान गरे ।
कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले अभियन्ताले आज सफा गर्ने र स्थानीयवासीले भोलिपल्ट फोहर फाल्ने गर्दा नदी एवं शहर सफाइ हुन नसक्ने भएकाले निरन्तर रुपमा सबैले आफ्नो वरपर सफा राख्नुपर्ने बताए ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले सफाइ अभियानलाई सरकारले सबै किसिमले साथ दिने प्रतिबद्धता व्यक्त गरे । राजधानी शहर सफाइ बनाउन यहाँ बस्ने सबैको उत्तिकै कर्तव्य रहेको उनको भनाइ थियो ।
वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५२ औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताइन् । मीनभवन क्षेत्रको आलोकनगरमा पनि ४३ औँ हप्ताको सफाइ अभियान जनचेतनामूलक कार्यक्रम गरी वाग्मती सफाइमा सहभागी भएको अभियन्ता प्रमिला पौडेलले बताइन् ।
प्रकाशित मिति: २० माघ २०७४, शनिबार १५:४२