काठमाडौँ, १७ माघ । अपाङ्ता भएका व्यक्तिलाई सहज वातावरण सिर्जना गर्नका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
करुणा फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘सञ्चारकर्मी र अपाङ्गता भएका व्यक्ति’बीचको छलफलमा वक्ताहरुले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा सहज पहुँच प्रदान गर्न भौतिक संरचना निर्माण अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय योजना आयोगमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गरेमात्र अपाङ्गमैत्री कार्यक्रम निर्माण हुने बताए ।
“घर, अस्पताल, बस, हवाईजहाज, सरकारी भवन, चर्पीलगायतका संरचना अपाङ्गमैत्री हुनुपर्छ,”– उनले भने ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्ने बारेमा सञ्चार माध्यमभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको बताए । “सञ्चार माध्यमले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्ने शब्द नै फरक हुने भएकाले यसबारे विशेष छलफल हुनु जरुरी छ,”– उनले भने ।
नेपाल प्रेस काउन्सिलका सदस्य संगीता खड्काले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्नका लागि प्रेस काउन्सिलले जारी गरेको अपाङ्गसम्बन्धी बनेको निर्देशिकालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
डा राजु ढकालले विभिन्न मिडियाले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्ने तरिकामा फरक हुँदा अपाङ्गता भएका व्यक्तिको इच्छाशक्तिमा ह्रास आउने गरको भन्दै सम्मानजनक शब्द प्रयोग गर्नुपर्ने बताए । सो अवसरमा अपाङ्ग व्यक्तिको जनहितका लागि जारी युट्युव भिडियो सार्वजनिक गरिएको थियो ।
लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दे आएको फाउण्डेशनले अपाङ्गताको क्षेत्रमा पनि महत्वपूर्ण कार्य गर्दै आएको फाउण्डेशनका अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिए । उनले आगामी दिनमा पनि अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: १७ माघ २०७४, बुधबार १५:३४