काठमाडौं, १४ माघ । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ ।

आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै त्यसको संख्या पनि निर्धारण गरेको हो ।
सहमति अनुसार ४ मुख्यमन्त्री, ४ सभामुख, २ उपसभामुख एमालेले र माओवादी केन्द्रले २ मुख्यमन्त्री, २ सभामुख ४ वटा उपसभामुख पाउने छन् । सहमति अनुसार, अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ ।
त्यसैगरी प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले, ४ र ५ को सभामुख माओवादी केन्द्रले लिने भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ को उपसभामुख माओवादी केन्द्रले र ४ र ५ को उपसभामुख एमालेले पाउने गरि सहमति जुटाईएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजन गर्दा मुख्यमन्त्री बाहेक एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत कायम गर्ने सहमति भएको छ । मन्त्रीहरुको कार्यविभाजन र प्रदेश नेतृत्वको वाँडफाँड सम्बन्धी प्रदेशका मुख्य मन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलको नेताको सहमतिमा गर्ने सहमति भएको छ । साथै मन्त्रीपरिषद्को संख्या प्रदेशसभाको संख्याको अनुपातलाई विचार गरि ७ देखि ११ सदस्यीय बनाईने सहमति भएको छ ।
कार्यदलले जुटाएको यो सहमति पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरिने कार्यदल संयोजक नेम्वाङ्गले जानकारी दिए ।
प्रकाशित मिति: १४ माघ २०७४, आईतवार २०:३२