काठमाडौँ, १२ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।
बिहीबारकाे मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
त्यसैगरी सशस्त्र द्वन्द्वकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।
बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नं १२ गोलगोल खाँडालाई तोक्ने र परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीका अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
“बैठकले सार्वजनिक खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र सो मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गर्ने निर्णय गरेको छ”, सरकारका प्रवक्ता मन्त्री बस्नेतले भने ।
त्यसैगरी प्रदेश नं १ को धरान, प्रदेश नं २ को वीरगंज, प्रदेश नं ३ को काठमाडौँ, चोभार, प्रदेश नं ४ को तनहुँ, दमौली, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार ०८:१३