काठमाडौं, ८ माघ । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने भएको छ।
पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले काँग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए ।
आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै काँग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँडका विषयमा औपचारिक छलफल अघि बढाएको थियो।
प्रदेश नम्बर २ मा कम्तिमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी, नेपालले काँग्रेससँग राखेको छ । नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ । आगामी माघ १० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसुचि छ ।
प्रकाशित मिति: ८ माघ २०७४, सोमबार १९:०९