सुर्खेत, ७ माघ । प्रदेश नम्वर ६ का प्रत्यक्ष तथा समानुपातिक प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश नम्वर ६ को अस्थायी राजधानी सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा प्रदेश सभाका ४० जना सदस्यले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ गराएपछि शाहीले अन्य सदस्यहरुलाई इश्वरका नाममा शपथ ग्रहण गराएका छन् । ६८ बर्षिया शाहि नेपाली काँग्रेस दैलेखबाट प्रदेश सभाको समानुपातिक सदस्यमा निर्वाचित हुन ।
शपथ कार्यक्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले देश नयाँ संरचनामा जाँदा निकै चुनौतिहरु हुने भएकाले त्यसका सामना गर्न बुद्धिमत्ताका साथ एक भएर लाग्नु पर्ने बताएका छन् । उनले यस प्रदेशको सम्बृद्धिकालागि विकासको रथ अगाडि बढाउन सवै सभासदहरुलाई आग्रह गरे ।
प्रदेश व्यवस्थापिका संसदको पहिलो बैठक २० दिन भित्र बोलाउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश व्यवस्थापिका संसदले प्रदेशको नामाकरण र प्रदेशको स्थायी राजधानी तोक्ने समेत जनाइएको छ । प्रदेशको सम्बृद्धिकालागि सडक संजालमा सांसदहरुले जोड दिने बताएका छन् ।
१० जिल्लालााई समेटेर बनाएको ६ प्रदेशका सवै जिल्लामा सडक नजोडिएकाले प्रदेश सभाको पहिलो प्रथामिकतामा सडक पुर्याउने प्रदेशसभा सदस्यहरुले बताए । हुम्ला र डोल्पामा सडक पुर्याउने र कर्णालीका जडिबुटिलाई राजधानी सुर्खेतमा प्रसोधन गरिने व्यवस्था मिलाए यस प्रदेशको आर्थिक सम्बृद्धि हुने सांसद जीवनबहादुर शाहीले बताए । उनले सडक संजालले नछोएसम्म विकास नुहने भएकाले पुर्वाधार विकासकालागि सडक आवश्यक रहेको बताए । कर्णालीको स्याउ च्याउ र झ्याउलाई प्रसोधन गरि वजारीकरण गर्न सके अन्य प्रदेशभन्दा सवल हुने बताए ।
यसैगरि सांसद यज्ञबहादुर विसीले निर्वाचनमा गरिएको गठबन्धले निरन्तरता पाए यो प्रदेशको सरकार गठबन्धनकै हुन र काँग्रेस सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए ।
प्रदेश व्यवास्थापिका संसदको पहिलो बैठक २० दिन भित्र प्रदेश प्रमुखले बोलाउनु पर्ने प्रावधान अनुसार संचालन गरिने भएको छ । ६ नम्वर प्रदेशमा प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ १६ गरि ४० जना प्रदेश सभा सदस्यहरु निर्वाचित भएका छन् ।
प्रकाशित मिति: ७ माघ २०७४, आईतवार १६:५५