काठमाडौ ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम-राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए ।
उनले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम-राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए । फोरम-राजपाका प्रतिनिधिले भने आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्नसक्ने अडान राखेका थिए ।
चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए । ‘प्रदेश २ र अन्य प्रदेशमा के-कसो गर्ने भन्ने अनुमानित तथ्यांकमा गृहकार्य अघि बढेको हो । आइतबार एजेन्डागत रूपमा छलफल हुनेछ’, उनले भने।
मिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मुलुकको विद्यमान राजनीतिक र राष्ट्रियसभा चुनावको विषयमा सामान्य छलफल भए पनि टुंगो लागेको छैन । आ-आफ्नो दलमा परामर्श गरी आइतबार पुनः बस्ने निर्णय भएको छ’, श्रेष्ठले भने । राजपा महासचिव केशव झाले बैठक सकारात्मक भएको टिप्पणी गरे । ‘राष्ट्रियसभामा मधेसी र कांग्रेसबीच चुनावी एकता निकट छ’, उनले भने ।
प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिएको र प्रदेश २ मा आफ्ना मागप्रति कांग्रेस लचक देखिएकाले राष्ट्रियसभामा कांग्रेससँगै तालमेल हुने फोरमका एक नेता बताउँछन् । कांग्रेसले प्रारम्भमा प्रदेश २ मा मात्र भने पनि पछि प्रदेश ५ को प्रमुख मधेसी दलकै सिफारिसमा दिनु सकारात्मक उपलब्धि रहेको उनले बताए ।
वाम गठबन्धनले पनि राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का ६ सिटमा फोरम-राजपासँग तालमेल गर्न चाहेको छ । यस प्रकारको वार्ता राजपाका नेता राजेन्द्र महतोमार्फत भइरहेको स्रोतले जनाएको छ । प्रदेश २ बाहेक १, ५ र ७ मा पनि मधेसी गठबन्धनमा आबद्ध दुई दलका केही मत रहेकाले यस्ता मतले उनीहरू आफैंले कुनै सिट नजिते पनि कांग्रेसलाई केही सिट दिलाउन सक्ने भएकाले फोरम-राजपालाई प्रदेश प्रमुख दिएर खुसी पारेको दाबी कांग्रेसका नेताहरूको छ ।
चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले दुई सिट र प्रदेश २ मा फोरम-राजपाले एक सिट बढी जित्ने आकलन ।
कांग्रेसले दुई मधेसवादी दलका साथै नयाँ शक्ति पार्टी र राप्रपासँग सहकार्य गरेर राष्ट्रियसभामा केही सिट थप्ने रणनीति लिँदै ती दलका नेतासँग पनि अनौपचारिक वार्ता थालेको छ । शनिबार भएको तीन दलीय वार्तामा कांग्रेस नेता विमलेन्द्र निधि, डा. रामशरण महत, मीनेन्द्र रिजाल, उमाकान्त चौधरी र आनन्दप्रसाद ढुंगाना, फोरमबाट राजेन्द्र श्रेष्ठ, रामसहाय यादव र रेणु यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, वृजेशचन्द्र लाल र केशव झा सहभागी थिए ।
प्रकाशित मिति: ७ माघ २०७४, आईतवार ०८:१०