विराटनगर, ६ माघ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशको राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
नवनियुक्त प्रदेश प्रमुख सुब्बाले प्रदेशको राजधानी तोक्ने काम सम्बन्धित प्रदेशसभाकै भएकाले त्यसमा आन्दोलन गर्न उचित नहुने पनि स्पष्ट पारे । विराटनगरमा स्थानीय संचारकर्मीमाझ उनले अर्काको अधिकार हनन् नहुने गरी आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन उपयुक्त हुने धारणा राखे ।
प्रदेश प्रमुख सुब्बाले प्रदेश संचालनका लागि पर्याप्त संरचना भएकाले विराटनगरमा प्रदेशको अस्थायी राजधानी बनाउनु परेको पनि स्मरण गराए । उनले अव मुलुकमा शान्ति र स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे ।
प्रदेश एक सपथग्रहणको तयारी
प्रदेशसभा सदस्यहरुको शपथग्रहणकालागि विराटनगरको वीरेन्द्र सभागृहको साजसज्जा सुरु भएको छ । आइतबार विहान १० बजे प्रदेश प्रमुखबाट प्रदेशका ९३ जना सदस्यहरुलाई सोही सभागृहमा सपथ गराउने कार्यक्रम तय भएपछि हतारमा भवन सजाउने काम सुरु गरिएको हो । लामो समयदेखि मर्मतको पर्खाइमा रहेको सभागृह विराटनगर महानगरपालिका मातहतको संरचना हो ।
महानगरले भाडा लिएर सार्वजनिक प्रयोजनमा ल्याउदै आएको भवनको भित्री अवस्था नाजुक रहेको छ । खुइलिएको रंगरोगनको अवस्थालाई तत्काल पर्दा लगाएर छोपिने छ भने पुराना कुर्सीहरु निकालिने छ । मैला कुर्सीहरुलाई बाहिरबाट खोल लगाएर सजाइने छ ।
अँध्यारो हल भएको हुँदा अस्थाई रुपमा हलभित्र लिड लाइटहरु धमाधम फिट गर्ने काम भइरहेको विराटनगर महानगरपालिकाका प्राविधिकले जानकारी दिए । शौचालय, पानी, धारा आदिको मर्मत कार्यपनि जारी रहेको छ ।
करिव ५ सय जनाको क्षमता रहेको सो सभागृह प्रदेश संसदको रुपमासमेत प्रयोग हुने प्रस्ताव गरिएकोले पहिलो बैठक पछि त्यसको विस्तृत मर्मत सम्भार र पुर्ननिर्माण गर्ने बताइएको छ । तत्कालका लागि भने सजावट गरेर शपथ ग्रहण तयारी गरिएको छ । पहिलो बैठक भने जिल्ला समन्वय समिति मोरङको सभाहलमा राख्ने तयारी भएको छ ।
प्रदेश नम्बर २ को सपथग्रहण जनकपुरमा
जनकपुर, ६ माघ । दुई नम्बर प्रदेश सभाको सदस्यहरुको सपथग्रहण जनकपुरस्थित उद्योग वाणिज्य संघको सभा भवनमा हुने भएको छ ।
संघको राजर्षिक जनक सभा कक्षमा सपथग्रहण गराउने तयारी गरिएको हो । आइतबार विहान ८ बजे हुने प्रदेशसभा सदस्यहरुको सपथग्रहणको लागि सभा कक्षलाई सजाउने कार्य भईरहेको छ । सभा कक्षामा सपथग्रहणको लागि चाहिने कुर्सी, मंच, लाईट र सरसफाईको कार्यलाई तीव्रता दिइएको छ ।
सपथग्रहणको लागि सभाकक्षलाई सजाउनको लागि करिब ६० हजार रुपैया खर्च गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरुले सफाई कार्यलाई तिव्रता देखिएका छन् । सडक र बाटोहरुको समेत मर्मत कार्य गरिएको छ । सहरी भवन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेश प्रमुखलाई बस्ने व्यवस्था जनकपुर चुरोट काखरानामा मिलाइएको जानकारी दिए ।
प्रदेश नम्बर ३ को सपथग्रहण हेटौंडामा
हेटौंडा, ६ माघ । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गरेकी छिन् ।
शनिबार साँझ हेटौंडा पुगेकी प्रमुख कोइरालाले पदभार ग्रहण गरेकी हुन् । त्यस अवसरमा उनलाई प्रतिनिधि सभा सदस्य कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु डोरमणी पौडेल, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठसहित नेपाल सरकारका उच्च ओहोदाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहण पछि सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आफु संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
प्रदेश प्रमुख कोइरालाले आइतबार विहान १० बजे प्रदेश सभाका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ खुवाउने कार्यक्रम रहेको छ । साँढे १० बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य पौडेलले अन्य १ सय ९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । तीन नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ ६६ जना र समानुपातिक तर्फबाट ४४ जना प्रदेशसभा सदस्य रहेका छन ।
प्रदेश नं ४ प्रमुख कुँवरलाई स्वागत
पोखरा, ६ माघ । प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरलाई आज पोखरामा स्वागत गरिएको छ ।
आज पोखरा आएका कुँवरलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरास्थित कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख कुँवरले पर्यटन तथा जलस्रोतको उपयोगमार्फत यस प्रदेशलाई समृद्धिको मार्गमा लैजान सकिने उल्लेख गरे । संविधानले व्यवस्था गरेअनुसार आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई आफूले शपथ ग्रहण गराउने उनले बताए ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार प्रदेश प्रमुख कुँवरले प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्यलाई आइतबार बिहान नौ बजे कुँवरले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालय पार्दीमा ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट साविकको नगर प्रशिक्षण कार्यालयमा विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
प्रदेशसभा सदस्यको शपथका लागि आवश्यक तयारी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
प्रदेश प्रमुख झालाई बुटवलमा स्वागत
बुटवल, ६ माघ । सरकारबाट नियुक्त भएर शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हाल्न आएका प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा आज बुटवलमा स्वागत गरिएकाे छ ।
रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकेपछि आफ्नो जिम्मेवारी सम्हाल्न र भोलि हुने प्रदेशसभाका सांसदहरुलाई शपथ ग्रहण गराउन उनी आज यहाँ आइपुगेका हुन् ।
बुटवलस्थित सडक विभागको सरकारी गेष्ट हाउसमा उनलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
उनले आइतबार बिहान १० बजे रुपन्देही व्यापार संघको सचिवालयमा तय गरिएको प्रदेश प्रमुखको सचिवालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । पदभार ग्रहणपछि बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा रहेको सभाहलमा प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।
प्रदेश नम्बर ७ का सांसदहरुको सपथग्रहणको तयारी पूरा
धनगढी, , ६ माघ । कैलालीको धनगढीमा प्रदेश नम्बर ७ को प्रदेशसभा सांसदहरुको सपथ ग्रहणका लागि आवश्यक तयारी पूरा गरिएको छ ।
कैलाली जिल्ला समन्वय समितिको हलमा प्रदेशसभा सांसदहरुको सपथग्रहणका लागि तयार पारिएको हो । आइतबार विहान ११ बजे प्रदेशसभाका सांसदहरुको सपथग्रहण हुँदैछ । त्यसैका लागि आवश्यक तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
त्यसैगरी धनगढीमा प्रदेश प्रमुखको कार्यालय, आवासको पनि व्यवस्था गरिएको छ । प्रदेश प्रमुखको कार्यालय भने घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनमा व्यवस्था गरिएको क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलले जानकारी दिए ।
त्यसैगरी प्रदेश प्रमुखको आवास क्षेत्रीय वन निर्देशनालयको भवनमा व्यवस्था गरिएको छ । आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । त्यसपछि प्रदेश सभा सरकार गठन प्रक्रिया अघि बढने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: ६ माघ २०७४, शनिबार २०:२१