काठमाडौं, ६ माघ । एमाले र माओवादी केन्द्रबीच आइतबार पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भएको भेटवार्तामा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको हो ।
बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुवै दलका अध्यक्षले आइतबार अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका हुन् । भोली अपरान्ह ३ बजे बस्ने बैठकले पार्टी एकताको ठोस एजेन्डालाई अन्तिम रुप दिने गरी आवश्यक तयारी गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।
ओली र दाहालबीच शुक्रबार पनि पार्टी एकताका विषयमा विस्तृत छलफल भएको थियो । छलफलमा दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्य दल बनाएर अघि बढने विषयमा पनि सहमति भएको बुझिएको छ । दुई दलले कार्य दल नै बनाएर राष्ट्रिय सभाको सिट बाँडफाँडमा पनि टुंगो लगाईसकेका छन ।
प्रकाशित मिति: ६ माघ २०७४, शनिबार १९:५६