सुर्खेत, ६ माघ । प्रदेश निर्वाचन भएको झण्डै दुई महिनापछि निर्वाचित सांसदहरुले पद तथा गोपनियता सपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश नम्वर ६ को राजधानी सुर्खेतमा प्रदेश प्रमुख दुर्गा केशर खनालले अाइतबार विहान ११ वजे प्रदेश संसदहरुलाई पद तथा गोपनियताको सफथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा प्रदेश निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गरिने क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सपथ ग्रहणकालागि प्रदेशका सवै जना सांसदहरुलाई जानकारी गराइसकेको क्षेत्रिय प्रशासक सुरेशमान प्रधानले जानकारी दिएका छन् । यस प्रदेशका अधिकांश सांसद सुर्खेत पुगिसकेका छनभने केहि सांसद अाइतबार विहानसम्म सुर्खेत पुगिसक्ने उनको भनाई छ् ।
व्यवस्थापिका संसदको बैठकका लागि शैक्षिक तालिम केन्द्रको सभा हललाई तयार गरिएको क्षेत्रिय प्रशासक प्रधानले बताए । सपथ ग्रहण गरेको २० दिनपछि व्यवस्थापिका संसद बैठक बस्ने भएकाले शैक्षिक तालिम केन्द्रको मर्मत गरिसक्ने उनले बताए । मर्मतको काम नसकिएको अवस्थामा पहिलो बैठक क्षेत्रिय खानेपानी तथा सुपरिवेक्षण कार्यालयको सभा हलमा वस्ने गरि विकल्प राखिएको क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनबाट ६ नम्वर प्रदेशमा प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ १६ गरि ४० जना सांसदहरु निर्वाचित भएका छन् ।
प्रकाशित मिति: ६ माघ २०७४, शनिबार १७:३९