सुर्खेत, ३ माघ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले निजि क्षेत्रले व्यवसायमा प्रतिफलको ग्यारेण्टी गर्न सके केहि प्रतिशत रकम नगरपालिका लगानि गर्न तयार रहेको बताएका छन् । उनले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा बुधबार आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्त्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।
नगरप्रमुख सुवेदीले अबको विकास भौतिक पूर्वाधारको मात्रै नहुने बताए । उनले भने, ‘अबको विकास भनेको रोजगारीको सिर्जना, आर्थिक रुपान्तरण, मानव संशोधनको विकास र आर्थिक समृद्धिको पाटोमा अगाडी बढ्ने आधार हो ।’ यसका लागि नीजि क्षेत्रसँग नगरपालिका लगानी गर्न तयार रहेको तर नीजि क्षेत्रले यसको आगामी सकारात्मक प्रभावबारे आफूहरुलाई आश्वस्त पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सरकारको पैसा सोझै निजि क्षेत्रलाई दिन नसकिने, दिएपनि कार्यान्वयनको अवस्था कसरी जाँच्ने, आफूहरु अलमलमा रहेका छौं ।’ प्रमुख सुवेदीले अब स्थानीय सरकारले नयाँ नीति बनाउने र उक्त नीति बनाउँदा महिला, पिछडिएको वर्गलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेमा ध्यान दिईने उनको भनाई थियो ।
यस्तै उनले सीप परिक्षण केन्द्रले समाजमा रहेका तर मुलधारमा नआइसकेका सीपवान व्यक्तिलाई पनि सर्टि्फिकेट दिनुपर्नेमा जोड दिए । उनले करिब २ लाख भन्दा बढीलाई सीप प्रमाणपत्र प्रदान गरेपनि उसको सिपले बजारीकरणमा कस्तो प्रभाव पारेको छ, उ नेपालमै छ की अन्तै छ भन्ने लेखाजोखा समेत राख्नुपर्ने बताए । उनले नगरमा रोजगारी सिर्जना गर्छु भनेर आउने जोसुकैसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रमलाइृ सम्वोधन गर्दै उपप्रमुख मोहनमाया ढकालले छलफलमा उठेका कुराहरुलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख ढकालले निजि क्षेत्रले आगामी दिनमा महोत्सव आयोजना गरेको खण्डमा स्थानीय उत्पादनलाई नै बढी भन्दा बढी प्राथमिकता दिनुपर्नेमा जोड दिईन । उनले भनिन, ‘विगतमा हामीले महोत्सवमा सस्ता सामान किन्न पाईन्छ भनेर लाम लाग्ने संस्कार थियो । अब स्थानीयले बुनेका, सिलाएका सामानहरु पाईन्छ भन्ने सन्देश जानेगरि महोत्सव आयोजना गर्न आयोजकलाई मेरो सुझाव छ ।’ यसकालागि बरु निजि क्षेत्रले उनीहरुलाई पर्याप्त मात्रामा कच्चा पदार्थको व्यवस्था गरिदिनुपर्ने बताईन ।
कार्यक्रममा जनज्योति मावि बड्डिचौरका प्रअ नारायण सिग्देलले सिटिइभिटिमा अध्ययन गर्ने विद्यार्थीले कोर्स पुरा गर्दै गर्दा कमाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थी हरेक महिना नेपालमा पैसा पठाउन सक्ने तर हाम्रोमा हामी त्यस्तो कार्य किन गर्न नसक्ने ?’ उनले यसबारेमा सोच्न र आवश्यक पाठ्यक्रममा सुधार गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरे । यता, सुर्खेत उद्योग वाण्ज्यि संघका अध्यक्ष प्रकाश अधिकारीले ग्यारेण्टि दिएर कोही व्यक्ति पनि व्यवसायमा आउन नसक्ने बताए ।
प्रकाशित मिति: ३ माघ २०७४, बुधबार १७:१५