बाबियाचौर, म्याग्दी, १५ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गरेका छन् ।
मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेका हुन् ।
जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ हजार सहयोग गरिसकेका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिए ।
उनीहरुले भवन निर्माणका लागि रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराएका थिए । सोही जग्गामा भवन बनाउन घडेरी सम्याउन रु एक लाख ३५ हजार सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि रु तीन लाख ५० हजार उपलब्ध गराएका छन्।
टीकाबहादुर भारतीय सैनिकका सेवानिवृत भूपू हुन् भने देवबहादुर पर्यटन व्यवसाय गर्छन् । जिल्ला शिक्षा कार्यालय, स्थानीयवासी, विभिन्न संघ संस्थाको रु एक करोड १५ लाखमा निर्माण भएको दुई तले आठ कोठे भवन माथि खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको टीका खड्काले बताए ।
जिल्ला शिक्षा कार्यालयले आठ कोठे भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालले बताए ।
विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहेका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गरेका छन् ।
२०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ भवन अपांगमैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: १५ पुष २०७४, शनिबार १३:४९