सुर्खेत, ९ पुस । शनिवार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाबाट बृहत कार्यक्रम गरी छोरी बचाउने महाअभियान सुरु भएको घोषणा गरिएको छ । छोरीका लागि स्वर्णिम नेपाल महाअभियानमा जीवन रुपान्तरण प्रशिक्षक नरबहादुर कार्की र चलचित्र नायिका रेखा थापाले साथ दिएका छन् ।
आइतवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कार्कीले नेपाललाई छोरीको संरक्षण गर्न नसकेको देश भनेर चिनिन थालिएको हुँदा आफूहरुले स्वस्फूर्त छोरी बचाउन महाअभियान थालिएको बताए । बालविवाह नेपाली समाजमा ‘मौन महामारी’ को रुप फैलिएको हुँदा बालविवाह न्यूनीकरण गर्नु नै यो अभियानको लक्ष्य भएको जानकारी प्रशिक्षक कार्कीले दिए ।
नायिका रेखा थापाले छोरी बचाउने महाअभियानमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै छोरीलाई सशक्त र आत्मनिर्भर बनाउन सके बालविवाह कम हुने उल्लेख गरिन् । कलाकारिताभन्दा सामाजिक अभियानमा सन्तुष्टि मिलेकोले आफू यो अभियानमा सरिक भएको उनले बताइन् । सुर्खेतबाट सुरु भएको छोरी बचाउन अभियान देशैभर संचालन गरिने जानकारी नायिका थापाले दिइन् । सो महाअभियान सोमबार पंचपुरीको सालकोटमा पनि हुदैंछ ।
प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १८:२४