सुर्खेत, ५ पुस । मुलुकमा जारी शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जनाएका छन् । विगतको सशस्त्र द्वन्द्वपछि थालिएको शान्ति प्रक्रिया संघीय गणतन्त्रात्मक व्यवस्थासम्म आइपुगेकोले अन्तिम चरणको अवस्थामा रहेको हुँदा यसलाई सार्थकतापूर्वक टुंग्याउनुपर्ने उनीहरुको भनाइ थियो ।
संसद सचिवालयद्वारा बुधवार यहाँ आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले राजनीतिक रुपमा द्वन्द्वको समाधान भएको हुँदा शान्ति प्रक्रिया पनि करिव करिव टुंगिसकेको बताए । उनले विगतको अवस्थालाई समीक्षा गर्दै संविधान कार्यान्वयनको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले आ–आफ्नो काम जारी राखेकोले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगी संविधान कार्यान्वयन भइरहेको उनको भनाइ छ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले विगतको द्वन्द्वमा धेरै पीडित भएपनि अव मुलुकको शान्तिका लागि ती सवै सहेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले शान्ति प्रक्रिया नटुंगि फेरि द्वन्द्व सिर्जना हुनसक्ने खतरा रहेको उल्लेख गरे ।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाका कार्यकारी अधिकृत कूलबहादुर विसी, एमालेका हरिप्रसाद अधिकारी, दलित गैसस महासंघका गगनसिंह एलजी, शान्ति समितिका निवर्तमान संयोजक मोहन थापा, मप विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, जिल्ला शिक्षा कार्यालयका विनी बलवीर सुनारलगायतले शान्ति प्रक्रियालाई टुंग्याएर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान आवश्यक रहेको र यसका साथै संविधान कार्यान्वयन गर्नपनि लाग्नुपर्नेमा जोड दिएका थिए । संसद सचिवालयका मुरारी महतले जिल्ला जिल्लामा शान्ति प्रक्रिया र संविधान कार्यान्वयनका वारेमा के कस्तो सुझाव छ भनी संकलन गर्न आएको र त्यो केन्द्रमा बुझाइने जानकारी दिए ।
प्रकाशित मिति: ५ पुष २०७४, बुधबार १६:४३