सुर्खेत, ५ पुस । आठ महिनाको अन्तरमा स्थानीय निकाय र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भए । यी दुवै निर्वाचनमा निर्वाचन आयोगले मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र राजनीतिक दलले मतदाता शिक्षा गाउँ–गाउँमा सञ्चालन गरे ।
मतदाता शिक्षामा कति खर्च भयो वा गरियो भन्ने लेखजोखा हुन त बांकी नै होला, तर यति गर्दा समेत मतपत्रमा औंठा छाप लगाउने प्रचलन भने अझै पनि अन्त्य हुन नसकेको निर्वाचनको बदर मतले देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नविन पौडेलका अनुसार धेरैजसो ल्याप्चे लगाएको, एउटै चिन्हमा डबल छाप लगाएको, उम्मेदवार नभएको चुनाव चिन्हमा पनि छाप लगाएको, छाप नै नलगाएको पाईएको छ ।
यसपटकको निर्वाचन विगतका निर्वाचन भन्दा नयाँ स्वरुपको भएर पनि मतदाता झुक्किएको सुचना अधिकारी पौडेलको भनाई छ । कतिपय मतदाताले प्रतिनिधि सभाको मत प्रदेश सभाको बाकसमा र प्रदेश सभाको मतपत्र समानुपातिकको बाकसमा खसाएका थिए ।
सुर्खेतमा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधि सभामा साढे ४ प्रतिशत र प्रदेश सभामा साढे ६ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु गरेपनि सुर्खेतमा बदर मतको संख्या भने बढेको छ ।
कार्यालयले विभिन्न ठाउँमा नमुना मतदान, मतदाता शिक्षा कार्यकर्ता टोली गाउँगाउँमा पठाएको थियो भने सञ्चारमाध्यमबाट पनि विभिन्न चेतनामुलक सन्देश प्रकाशन तथा प्रसारण गरेको थियो ।
प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक गरी साढे ४ प्रतिशत र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी साढे ६ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभाको निर्वाचन क्षेत्र २(२) को समानुपातिक तर्फ मात्रै साढे १४ प्रतिशत मत बदर भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ साढे ३ प्रतिशत मत बदर भएको थियो ।
प्रतिनिधि सभा क्षेत्र नम्वर १ सुर्खेतमा कुल खसेको ७२ हजार ७ सय ४७ मत मध्ये १ हजार ५ सय ९४ मत बदर भएको छ । प्रदेश सभा १ (क) मा खसेको कुल ३१ हजार ७ सय ४१ मत मध्य ६ सय ३९ मत बदर भएको पाईएको छ । त्यसैगरी प्रदेश सभा १ (ख) मा ४१ हजार १९ मत खसेकोमा ७ सय ७८ मत बदर भएको छ ।
यस्तै समानुपातिक तर्फ प्रतिनिधि सभा क्षेत्र नम्वर १ सुर्खेतमा कुल ७२ हजार ६ सय ८३ मत खसेकोमा ३ हजार ४ सय ३० मत बदर भएको छ । समानुपातिक तर्फ प्रदेश १ (क) मा ३१ हजार ७ सय २३ खसेको मत मध्य २ हजार ६ सय ३२ मत बदर भएको छ । प्रदेश सभा १ (ख) मा ४० हजार ९ सय ६० मत खसेकोमा ३ हजार २ सय २ मत बदर भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्वर २ मा पनि धेरै मत बदर भएको छ । निर्वाचन क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा तर्फ कुल खसेको ७१ हजार ५ सय ४७ मत मध्य २ हजार ५ सय ९७ मत बदर भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्वर २ (क) मा कुल खसेको मत ४० हजार ४ सय ४७ मध्ये १ हजार ९० मत बदर भएको छ भने निर्वाचन क्षेत्र न २ (ख) मा १ जम्मा खसेको ३० हजार ४ सय ७० मत मध्ये हजार ४ सय ९ मत बदर भएको छ ।
यस्तै समानुपातिक तर्फ निर्वाचन क्षेत्र नम्वर २ मा पनि उल्लेखिय मात्रामा मत बदर भएको छ। क्षेत्र नम्वर २ मा भने समानुपातिक तर्फको ७१ हजार ५ख सय ४७ मत खसेकोमा ७ हजार १ सय १ मत बदर भएको छ ।
समानुपातिक तर्फ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश (क ) मा ४ हजार १ सय ७० र प्रदेश (ख )मा २ हजार ९ सय ३१ गरी कुल ७ हजार १ सय १ मत बदर भएको छ ।
२ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा रहेको सुर्खेत जिल्लामा जिल्लाभर १ लाख ४३ हजार ९ सय ९४ मत खसेकोमा प्रत्यक्ष र समानुपातिक गरी जिल्लाभर १९ हजार ३ सय ७६ मत बदर भएको छ ।
प्रकाशित मिति: ५ पुष २०७४, बुधबार १३:११