सुर्खेत, २ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयराम थानीले सरकारमा रहंदा भएका कमजोरी र नेताहरुको दम्भका कारण निर्वाचनमा कांग्रेसले पराजय व्यहोर्नु परेको टिप्पणी परेका छन् ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको परिणाम पश्चात आम मतदाता एवं नेता कार्यकर्तालाई धन्यवादन दिन नेपाली कांंग्रेसद्वारा वीरेन्द्रनगर नगरपालिकाका वडाहरुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य थानीले सुर्खेती जनता कांग्रेसको पक्षमा हुँदाहुँदै पनि बाम गठबन्नका कारण पराजय भोग्नु परेको बताए । उनले भने, ‘मत हामीसँग छ, तर प्राविधिक कारणले पराजय भयौं ।’
पूर्व मन्त्री समेत रहेका थानीले सरकारमा सँगै बसेर पनि बामपन्थी गठबन्धनको सुइको समेत नपाउनु कांग्रेका लागि दुर्भाग्य भएको बताए । ‘बामपन्थी मिल्नु अस्वभाविक होइन, तर अहिले नै मिल्नु पर्ने परिस्थिति कसरी आयो त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुल्याङकन गर्नु पथ्र्यो ।’
सुर्खेतको मेहेलकुना, वीरेन्द्रनगर र बाबियाचौर तीनै स्थानमा कांग्रेसका सबै नेताहरु उपस्थित भएर आमसभा गर्नु पर्ने सुर्खेती जनताको इच्छा भएपनि सबैका दम्भका कारण त्यो हुन नसक्दा समस्या भएको कांग्रेस केन्द्रीय सदस्य थानीको भनाई थियो । उनले भने, ‘हाम्रो व्यवहारले पनि केही मतमा असर प¥यो ।’
कर्णाली पारी गएको राजधानीलाई सुर्खेतमै स्थापित गर्ने काम कांग्रेसले नै गरेको कांग्रेस नेता थानीको दावी थियो । उनले सुर्खेत र समग्र प्रदेशको विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहने हुनाले संगठित भएर काम गर्न नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
कांग्रेस सभापति एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश नम्बर १ का उम्मेदवार कमलराज रेग्मीले सबै पार्टी आ–आफ्नै सिद्धान्तमा चुनाव लड्दा कांग्रेसले दुईतिहाइ जित्ने अवस्था निर्वाचन परिणामले देखाएको हुनाले कांग्रेस प्राविधिक रुपमा मात्रै पराजय भएको बताए । उनले भने, ‘यो प्राविधिक रुपमा मात्रै पराजय हो, सैद्धान्तिक रुपमा विजय भएका छौं ।’
नगरसभापति एवं नगर प्रमुख देवकुमार सुदेवीले निर्वाचनमा पराजय भोगेपनि विकास निर्माणको काममा सक्रिय भएर लाग्न आग्रह गरे । उनले अहिलेकै गतिमा संगठन निर्माण र विकास निर्माणको काम लिएर जनताको घर दैलोमा पुगे कुनै पनि शक्तिले कांग्रेसलाई पराजित गर्न नसक्ने दावी गरे ।
वडा सभापति चन्द्रलाल आचार्यको सभापतित्वमा वीरेन्द्रनगर नगरपालिका ८ खजुरामा भएको भेटघाट कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पीताम्बर ढकाल लगायतले प्राविधिक रुपमा कांग्रेस पराजय भएकाले विचलित हुनु पर्ने अवस्था नभएको धारणा राखेका थिए ।
प्रकाशित मिति: २ पुष २०७४, आईतवार १२:३१