काठमाडौं २ पुस । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै प्रदेश मुख्यमन्त्रीका विषयमा चर्चा सुरु भएको छ । सातवटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको बहुमत रहेकाले गठबन्धनले नै प्रदेश सरकार बनाउने निश्चित छ । प्रदेश २ मा भने मधेशवादी दलले प्रदेश सरकार बनाउने सम्भावना छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले मिलेर संयुक्त सरकार बनाउन आन्तरिक सहमति गरिसकेका छन् ।
चुनावमा यी दुई दलले प्रदेश २ का लागि सीटमा तालमेल समेत गरेका थिए । दुई दलले संयुक्त रुपमा गरेको चुनावी प्रचारमा नेताहरूले मधेशवादी दललाई मत माग्दै मधेश सरकार बनाउने प्रतिवद्धता गरेका थिए । प्रदेशसभामा मधेशवादी दलले बहुमत प्राप्त गरेको हुनाले प्रतिवद्धता अनुसार प्रदेश सरकार गठन गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
प्रदेशसभामा राजपा नेपालभन्दा फोरम नेपालको सीट संख्या बढी रहेको हुनाले मुख्य मन्त्रीको दावी फोरमले गर्ने बताइएको छ । प्रदेश २ मा प्रदेशसभाका लागि समानुपातिकवाहेक फोरम नेपालले २० र राजपा नेपालले १५ सीट जितेको छ । समानुपातिकमा १०–१० सीट आउने अनुमान तीन दलका नेताहरूले गरेका छन् । त्यस हिसाबले पनि फोरम नेपालको सीट सँख्या बढी हुने भएका हुनाले मुख्यमन्त्री सोही दलको भागमा पर्ने देखिएको छ ।
एक दुई सीट अपुग भए स्वतन्त्र दललाई मिलाएर भए पनि मधेश सरकार नै बनाउने मधेशी दलको तयारी छ ।
प्रकाशित मिति: २ पुष २०७४, आईतवार ०७:५९