तेह्रथुम, १ पुस । जिल्लाबाट दोस्रो पटक चुनाव जितेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेता भवानीप्रसाद खापुङले भने, “अहिलेसम्म संक्रमणको काल थियो, अब वाम–गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर शुरु हुन्छ ।”
विजयी नेता खापुङले यसो भनिरहँदा भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहेकी नेपाली काँग्रेस नेत्री सीता गुरुङले पत्रकार सम्मेलनमा भनिन्, “विकासका हिसाबले जिल्ला धेरै पछाडि छ, त्यसका निम्ति सबैले राजनीतिभन्दा माथि उठ्न सक्नुपर्छ ।” यसरी दुवैथरीलाई विकासकै चिन्ता छ ।
खापुङले यसअघि संविधानसभाको सदस्य हुँदा अधिक समय संविधान निर्माणमा बित्यो, अब विकासका काममा ध्यान लगाउँछौँ भने । विसं २०६४ मा काँग्रेसका तुलसी सुब्बासँग पराजित खापुङ २०७० मा सुब्बालाई नै पराजित गरेर संविधानसभा छिरे । दोस्रो पटक जिल्लाबाट निर्वाचित खापुङले अब सडक निर्माण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार विकास प्राथमिकतामा राखिने बताए । कोणसभामा विजयी एमाले नेताले जिल्लालाई नमूना बनाउन भूमिका खेल्ने बताए ।
प्रदेशसभा (ख) क्षेत्रमा निर्वाचित एमाले नेता तेजमान कन्दङ्वाले आफ्नो क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरे । “जनप्रतिनिधि नहुँदा विकासका काममा अनियमितता थियो, अब त्यस्तो हुन दिन्न, तब आफैँ विकासका काम देखिन्छ”, उनले भने ।
प्रदेशसभा (क) बाट निर्वाचित एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले जिल्लालाई प्रदेश नंं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने बताए । “यहाँ अमूल्य प्राकृतिक छटाले कुँदिएको तीनजुरे पहाड छ, नेपालकै अग्लो ह्यात्रुङ, गुराँस र दर्जनौँ प्राकृतिक ताल पोखरी छन्, यी नै जिल्लाको समृद्धिका आधार हुन्” उनको तर्क छ ।
चुनाव जितेका उम्मेदवारले विजयोत्सवमा विकास र समृद्धिका प्रतिबद्धता जनाउँदै गर्दा चुनाव हारेका काँग्रेस उम्मेदवारले सञ्चारकर्मीलाई बोलाएर अबका पाँच वर्ष जनताको काम गर्ने बताउँदै थिए । दुई पटक समानुपातिकबाट सांसद भएर काम गरिसकेकी नेत्री गुरुङ प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बनेकी थिइन् । नेत्री गुरुङले चुनाव हारेपछि पनि निरन्तर जिल्लाको विकास निर्माणकै लागि लागिरहने प्रतिबद्धता जनाइन् । सरकारमा रहुञ्जेल जिल्लाका सडक, सिँचाइ, पुलपुलेसालगायत पूर्वाधार विकासका काम अगाडि बढाइने उनको भनाइ थियो । पराजित काँग्रेस उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगाना र नेता विजय सम्बाहाम्फेले पाँच वर्षसम्म काम गरेर जनताको मन जित्ने बताए ।
विसं २०५० तिरै तेह्रथुममा सडक निर्माण शुरु भयो, अहिले पनि निर्माणाधीन सडक ५०० किमीभन्दा बढी छ । यहाँ एउटा पनि बाह्रै महिना सवारी सञ्चालनयोग्य छैनन् । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गतका दुई खोलामा पुल नहुँदा पूर्वी क्षेत्रका दुई गाउँपालिकाको सदरमुकामसँग सीधा सडक सम्पर्क जोडिएको छैन ।
म्याङलुङ–ओख्रेखण्डको लम्बु खोलामा पुल नहुँदा छथर म्याङलुङको सम्बन्ध उही दूरीको छ । तेह्रथुम अहिलेसम्म पनि छिमेकी पाँचथर र ताप्लेजुङसँग सीधा सडक सम्पर्कमा छैन । पूर्वी तराई झर्न कोशी राजमार्ग भएर धरान हुँदै फन्को मार्नुपर्छ । दक्षिण एशियाकै अग्लो ह्यात्रुङ (३६५ मि) झरना संरक्षण अभावमा पानीविहीन बन्दैछ । यहाँ २८ प्रजातिका गुराँस पाइने वन नाङ्गिदैछ ।
संरक्षण र पर्यटन प्रवद्र्धनको अभियानले गति लिएको छैन । सबैतिर बिजुली बत्ती पुगेको छैन । तमोर तटीय बस्तीमा खानेपानी छैन, बसाइँसराइले गाउँ रित्तिदै छन्, शैक्षिक संस्था रित्तिँदैछन् । विसं २०४६ पछि विकासको क्रम शुरु भयो, तर जिल्लाले मन्त्री पाएन । विकासको गति सुस्त भएकै कारण जिल्लाको समृद्धि अल्मलिएको सरोकार भएकाहरु बताउँछन् ।
लामो समयदेखि अल्मलिएको विकासको गतिलाई द्रुत बनाउन अबको आवश्यकता भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना बताउँछन् । “दलहरुले चुनावमा राजनीति गरे पनि अरु बेला मिलेर जिल्लाको विकासमा लाग्नुपर्ने देखिन्छ” उनी भन्छन् “विकासको हिसाबले जिल्लाको दुरवस्था देख्दा नेतालाई पनि लाज लाग्नुपर्छ ।” पत्रकार तिम्सिनाले विजयीले सही योजना रोज्ने र प्रतिपक्षीले साथ दिनुपर्ने अहिलेको आवश्यकताको भएको बताए ।
“मतदाताको अहिलेको आवश्यकता पूर्वाधार विकास नै हो, सडक, पुल, खानेपानी र स्वरोजगार धेरैले राखेका माग हुन्”, राज्यमन्त्री गुरुङले भनिन् ।
प्रकाशित मिति: १ पुष २०७४, शनिबार १२:२९