इलाम, २६ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भएका छन् ।
विसं २०४८ र २०५१ सालको निर्वाचनमा उनले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरे भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भए ।

संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे ।
विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मिएका उनी सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७ औँ प्रधानमन्त्री बने । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिएका नेता खनालले २०२१मा विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरेका हुन् । विसं २०२५मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसंगै शिक्षण पेशामा संलग्न हुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताएङ्का थिए ।
झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहेका खनाल सोही पार्टीको महासचिवसमेत थिए । विसं २०३७ पछि भूमिगत भएका उनी ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक भएका थिए ।
विसं २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित भएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम–१ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे ।
यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो । नेकपा (एमाले) केन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहेका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरेका थिए ।
संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बनेका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट विसं २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उनले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गरे ।
विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन् ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०३३ सालमा राजकाज मुद्दामा जेल परे । कानून विषयकोे अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ देखि २०५१ सालसम्म प्राध्यापन गरे ।
इलाम–२ बाट नौ हजार ६५४ मतान्तरले विजयी भएका नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे ।
प्रदेशसभा–२ (ख) का विजयी सांसद नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण २०५४ सालमा माओवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टीप्रति निरन्तर लगाव र झुकावका कारण उनी २०५८ सालमा पार्टीको राजनीतिक कमिसारसमेत भए । विसं २०७० सालमा इलाम क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका शर्मा नेपाली काँग्रेसका केशव थापासँग पराजित भएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले इलामबाट दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको छ ।
प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार १२:४२