मंसिर २६, २०७४-चार वर्षअघि दयाहाङ राई र प्रियंका कार्कीलाई लिएर निर्देशक दीपेन्द्र के खनालले डार्क कमेडीको नयाँ स्वाद भित्र्याए, ‘झोले’ फिल्ममार्फत । दर्शकले फिल्म रुचाए पनि । सोही फिल्मबाट टेकेन खड्का फिल्म निर्माणमा छिरेका थिए । उनै खड्काले पहिलो फिल्मको चार वर्षपछि दोस्रो प्रोजेक्टका रूपमा ‘मिस्टर झोले’ ल्याएका छन्, जसमा दयाहाङ मात्र दोहोरिएका छन् । लेखन र निर्देशन दुवैको जिम्मा निर्माता खड्काले रामबाबु गुरुङलाई सुम्पिएका हुन् ।
दयाहाङसहित वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, निरु
खड्का, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, डीबी गुरुङको अभिनय रहेको फिल्म पुस २८ देखि प्रदर्शनमा आउँदै छ । सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कमेडी फ्लेवर झल्काउँछ । कार्यक्रममा बोल्ने क्रममा निर्माता खड्काले फिल्मको नाम र टिमलाई लिएर प्राय:ले ‘झोले’ को सिक्वेलबारे जिज्ञासा राख्ने गरेको प्रसंग कोट्टयाउँदै भने, ‘खासमा ‘झोले’ कै सिक्वेल बनाउन खोजेका हौं । यसका लागि दीपेन्द्रजीलाई अफर गरेको पनि थिएँ । तर त्यस बेला उहाँ दुई वर्षका लागि प्याक सेडयुलमा हुनुहुन्थ्यो । त्यसपछि रामबाबु सिक्वेल बनाउन तयार भएपछि पटकथा पनि उहाँले नै तयार पार्ने क्रममा अघिल्लो फिल्मको भन्दा कथा नै अलग भयो । सिक्वेल नभई अलग्गै फिल्म बन्यो । ब्रान्ड मात्रै त्यही रहयो ।’
नायिका वर्षाले डबिङ गर्दैदेखि फिल्म रमाइलो लागेको प्रसंग उप्काइन् ।
शैलेन्द्र डी कार्कीको सिनेमाटोग्राफी रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । संगीत कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीले दिएका छन् ।
प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार ११:५०