मंसिर २३, २०७४-रीत गौतमको कप्तानीमा एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोली घोषणा भएको छ । १४ सदस्यीय टोली प्रशिक्षकमा जंगबहादुर थापा र दीपेन्द्र चौधरी छन् । डिसेम्बर ११ देखि १७ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै म्यानमार र हङकङ छन् । समूह ‘बी’ मा सिंगापुर, मलेसिया, भुटान र चीन छन् । नेपालले समूह चरणका सबै खेल बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा खेल्नेछ । नेपालले ३ सातादेखि प्रतियोगिता तयारी सुरु गरेको छ ।
प्रारम्भिक छनोटमा सबै क्षेत्रबाट उत्कृष्ट ४ खेलाडी आमन्त्रण गरेर कुल ४६ खेलाडी रहेको टोली निर्देशक विनोद दासले जानकारी दिए । ‘हामी यू–१९ एसिया कपका लागि मलेसियामा हुँदा एसीसीका प्रतिनिधिले चाँडै टोली गठन नगरे नेपालले खेल्न नपाउने बताए । त्यसैले हामीले हतारमा सबै क्षेत्रका प्रशिक्षकलाई क्षेत्रीय छनोटमार्फत उत्कृष्ट ४ खेलाडी पठाउन सुझायौं । त्यसपछि काठमाडौँ आएर १० दिने प्रशिक्षणपछि २४ खेलाडी छनोट गर्यौं,’ दासले भने, ‘हामीले एसीसीले दिएको बजेटअनुसार छनोट गर्न सम्भव थिएन । यस्तो अवस्थामा सुशील कोइराला स्मृति प्रतिष्ठानले टोलीलाई ठूलो सहयोग गर्यो । हामीले विगतको तुलनामा कम समय पाए पनि निकै राम्रो टोली तयार गरेका छौँ ।’ उनले यू–१६ उमेर समूहमा निकै प्रतिभावान खेलाडी भएकाले यो प्रतियोगितामा सहभागिता नजनाउँदा क्रिकेटको एउटा पुस्ता हराउने डर रहेको बताए ।
प्रशिक्षक जंगबहादुर थापाले टोली निकै राम्रो रहेकाले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए । ‘मैले पुरुष र महिला सिनियर राष्ट्रिय टोलीदेखि उमेर समूहका सबै टोलीको प्रशिक्षण सम्हालिसकेको छु । तर यसपल्टको टोली विगतभन्दा निकै फरक छ । सन्तुलित छ र उत्कृष्ट प्रदर्शन गरिरहेको छ । केही खेलाडीले छिट्टै यो भन्दा माथिल्लो स्तरमा नाम राख्ने छन्,’ उनले भने । थापाका अनुसार नेपालले उमेर समूहमा ल्याउँदै आएको राम्रो नतिजा यसमा पनि उपाधिसहित निरन्तर रहने बताए । टोलीका कप्तान रीत यसअघि यू–१६ राष्ट्रिय टोलीको क्याम्पसम्म पुगेका थिए । उनले विगतको तुलनामा यसपल्ट टोली राम्रो रहेको बताए ।
प्रतिष्ठान सहयोगी
एसीसी इस्टर्न रिजनमा भाग लिने नेपाली टोलीलाई कठिनाइ परेको अवस्थामा सुशील कोइराला स्मृति प्रतिष्ठानले टोलीको उत्थान गर्यो । क्याम्प अवधिभर टोलीको बसाइ तथा खानपिन खर्च प्रतिष्ठानले बेहोरेको थियो । प्रतिष्ठानका सदस्य–सचिव अतुल कोइरालाले क्रिकेटमा अवसर रहेको र युवा टोलीको यात्रामा साथ दिन पाउँदा खुसी लागेको बताए । प्रतिष्ठानको मूल उद्देश्य सामाजिक कार्य र स्वतन्त्र वैचारिक मन्च रहेकाले आउने दिनमा पनि सहयोग गर्न तत्पर रहने उनले बताए ।
नेपाली टोली : रीत गौतम – कप्तान (काठमाडौँ), विशालविक्रम केसी – उपकप्तान (नेपालगन्ज), तृतराज दास (कलैया), कुशल मल्ल (भैरहवा), रन्जन मगर (विराटनगर), सुवास (सुबोध) ऐर (धनगढी), अमितकुमार यादव (विराटनगर), सुनिल भण्डारी (नेपालगन्ज), नारायण जोशी (धनगढी), निखिलकुमार सिंह (कलैया), सूर्य तामाङ (काठमाडौँ), अजयकुमार लुनिया (भैरहवा), प्रतिश जीसी (काठमाडौँ), मेखबहादुर सेन (पोखरा) वैकल्पिक खेलाडी : विवेककुमार यादव (विराटनगर), रहमान अली मुसलमान (भैरहवा), बिशांक सुवेदी (काठमाडौँ), शेख इमरान (वीरगन्ज)
प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार १९:४५