काठमाडौँ, २३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताएकी छन् ।

उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएकाले त्यसको विशेष अध्ययन अनुसन्धान आवश्यक भएको बताइन् ।
शुद्ध खानेपानी, स्वच्छ वातारण र खाद्य सुरक्षा हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले खाद्यान्नमा मिसावटले मानव स्वास्थ्यमा असर परेको बताइन् । उनले संविधानले बहुदलीय लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र तथा सक्षम न्यायपालिका, कानुनी राज्य तथा मानवअधिकार प्रत्याभूत गरेको बताइन् ।
उनले संविधानमा नागरिक अधिकारमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरेकाले हिमाल, पहाड, तराई सबै क्षेत्रका जनताले सम्मानित भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दक्षिण एशियाकै उत्कृष्ट भएको बताए ।
उत्कृष्ट संविधान हुँदैमा समाजका सबै तहका जनताको सम्बोधन नहुने भन्दै उनले संविधानको सफल कार्यान्वयन गरेर समाजमा रहेका कुण्ठा तथा विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मानवअधिकारवादी चाँदनी शाह, चरण प्रसाईं, गैरसरकारी संस्थाका अध्यक्ष गोपाल लम्साल र संकल्पका अध्यक्ष तथा आयोजक समितिका संयोजक लिली थापाले मानवअधिकारको रक्षामा सबैको ध्यानाकृष्ट गराइन् ।
सो अवसरमा अपांगता अधिकारका क्षेत्रमा क्रियाशील रमा ढकाललाई ‘महिला मानवअधिकार वर्ष सम्मान २०७४’ले सम्मान गरियो । उनलाई रु १५ हजार राशिसहित सो सम्मान प्रदान गरिएको हो । एकल महिलाको अधिकारका क्षेत्रमा सक्रिय वेद अवस्थी र गोमा वस्याललाई संकल्प शान्ति संवाहक पुरस्कारस्वरुप जनही रु १२ हजार ५०० प्रदान गरिएको थियो ।
प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार १५:१२