काठमाडौँ, २३ मंसिर । काठमाडौँ क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाएकाे काठमाडौँ क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले जानकारी दिए ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाए ।
अहिले प्रदेश (ख)को मतगणना भइरहेको छ । प्रदेश (ख)मा वाम गठबन्धन झिनो मतले अगाडि छ । वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाएका छन् । दुई घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ–६ मा वामको अग्रता
काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ ।
गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
अहिलेसम्म २९ हजार मतगणना भइसकेको उनले बताए । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाएका छन् । आज बेलुकीसम्म काठमाडौँ–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उनले बताए । यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौँ महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए ।
प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार १५:०७