काठमाडौँ, १५ मंसिर । राष्ट्रिय पर्यवेक्षण संस्थाले मतदानमा ज्येष्ठ नागरिक, अपांग, क्रियापुत्री, बिरामी र महिलाको व्यापक सहभागिताले मतदातामा नागरिक अधिकारप्रतिको चासो र सजगता बढेको पाइएको निष्कर्ष निकालेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक,) आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र संकल्प अभियानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन क्रममा सो कुरा देखिएको आज पत्रकार सम्मेलनमार्फत जनाएका हुन ।
निर्वाचनको प्रचारप्रसारको क्रममा राजनीतिक दलको नेता तथा कार्यकर्ताबीच विवाद र झडपका घटना न्यून हुनुले राजनीतिक दलबीचमा हार्दिकता र सहनशीलताको नमूना प्रदर्शन भएको उल्लेख गर्दै ती संस्थाले पछिल्लो समय देखिएका विस्फोटनका घटनाले आगामी निर्वाचनमा भने सुरक्षा नै प्रश्नको रुपमा देखिने संकेत गरेको जनाए ।
सो अवसरमा नियोगका प्रमुख सूर्यप्रसाद शर्माले निर्वाचन शिक्षा, मतदाता परिचयपत्र वितरण, उम्मेदवारी दर्ता, कानून निर्माण, मौन अवधिको पालना, मतगणनाजस्ता विषयलाई सरकार, राजनीतिक दल र संसद्ले समयानुकूल तुल्याउँदै लैजानुपर्छ भने ।
जियोकका अध्यक्ष हिमालय शम्शेर राणाले भौगोलिक विकटता, प्रतिकूल मौसम र भयको वातावरणमा पनि मतदाताको सहभागिताले निर्वाचनलाई ऐतिहासिकरुपमा सफल तुल्याएको छ भने ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन शान्तिपूर्ण र निर्धक्क रुपमा भएको छ भनेर वैधता प्रदान गर्न पर्यवेक्षण गरिने भएको हुँदा पर्यवेक्षकले पनि तटस्थ भएर स्वतन्त्र आँखाले हेर्नुपर्छ भने ।
उनले भने– “उम्मेदवार र सुरक्षाकर्मीलाई लक्ष्य गरी हिंसाका शृंखलाको वातावरण हुनु हाम्रा लागि चिन्ताको विषय हो, निर्वाचनको विश्वसनीयताप्रति प्रश्न आउने ढंगबाट झडपका घटना भने भएका छैनन् ।”
हिंसाबाट लोकतन्त्र नआएको तथा हिंसाकै कारण लोकतन्त्र नगुम्ने हुँदा त्यस्तो क्रियाकलाप बन्द गर्न आग्रह गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नेपालको लोकतन्त्र अब क्रमशः परिपक्कतर्फ उन्मुख हुँदैगएको बताए ।
जियोकका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउन सुझाव दिए। नियोकका महासचिव डा गोपाल सिवाकोटीले मतदाता शिक्षालाई सूचनाको रुपमा मात्र नभइ साँच्चिकै परिणाममुखी तुल्याउन आवश्यक परिमार्जन निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
मतदाता परिचयपत्र वितरण, मतदाताको गोपनीयता, मतदाता शिक्षाका सुधारको खाँचो औल्याउँदै उनले मतपेटिकाको सुरक्षाको विषयमा आउनसक्ने प्रश्नका बारेमा सजग र सचेत रहन आयोग र सरकारलाई सल्लाह दिए ।
प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार १६:३०