लहान, १३ मंसिर । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो ।
साहको हत्यामा कापरीको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरवतनमा लुकिछिपी बसिरहेको अवस्थामा कापरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।
पक्राउ परेका कापरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक भेटवालले बताए । गत अजोज २६ गते आफ्नै घरमा सुतिरहेका साहको धारिलो हतियारले हत्या गरिएको थियो ।
संविधान संशोधनका लागि राजपालाई जिताउनुपर्छ – राजपा नेता यादव
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमत्री राजकिशोर यादवले संविधान संशोधन गरी मधेशीलाई अधिकार सम्पन्न बनाउन आफ्नो पार्टीलाई जिताउनुपर्ने बताएका छन् ।
सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका पूर्वमन्त्री यादवले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीले जितेमात्र संविधानमा रहेका विभेदकारी धाराको संशोधन गरी सबैको सर्वस्वीकार्य संविधान बन्ने बताए ।
संविधान संशोधन र स्वायत मधेशका लागि आफ्नो पार्टीलाई जिताउनुपर्नेमा जोड दिँदै यादवले यहाँका जनताले पहिचानसहितको संघीयता चाहेकाले राजपालाई अत्यधिक मतले विजयी बनाउने विश्वास व्यक्त गरे ।
मधेशको विकास र समृद्धिका लागि राजपाले जित्नुपर्छ भन्नेमा जनताले पनि बुझिसकेको बताउँदै उनले वाम गठबन्धनले विकास र समृद्धिको नारा दिए पनि वाम गठबन्धनका नेताप्रति जनताको विश्वास हटिसकेको दाबी गरे ।
विगतमा मधेशी जनतामाथि दमन गर्नेलाई यहाँका जनताले ब्यालेटमार्फत जवाफ दिने उल्लेख गर्दै उनले मधेश र मधेशीको अधिकार सुनिश्चितताका लागि आफूहरुले संघर्ष जारी राख्ने उद्घोषसमेत गरे ।
प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार १३:२५