सुर्खेत, ११ मंसिर । विकास निर्माणलाई देखाएपछि मतदाताले मत हाल्छन् भन्ने सोचलाई केन्द्रमा राखेर सुर्खेतका उम्मेदवारहरुले विकास देखाउँदै मत माग्ने प्रतिस्पर्धा भइरहेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ का कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले मतदाताहरुसंग मत माग्नका लागि आफूले सुर्खेत जिल्लामा गरेका विकास निर्माणका कामहरु देखाउने गरेका छन् ।
सदरमुकाम वीरेन्द्रनगरभित्रको निर्माणाधीन चारलेन सडक, उपत्यका चक्रपथ, नगर उज्यालो कार्यक्रम, भेरीको पानी लिफ्टबाट ल्याएर उपत्यकाबासीलाई खुवाउने योजनाहरु कांग्रेसले नै ल्याएको भन्दै मतदाताहरुसंग उनले मत मागेका छन् । उपत्यका बाहिर मत माग्न जाँदा गुटु बेनीघाट सडक, भुरीगाउँ तेलपानी, चौकुने सिमेन्ट र लखरपाटा सिमेन्ट उद्योग स्थापनाको पहल गर्ने भन्दै थानीले मत माग गरिरहेका छन् । कुनै योजना सम्पन्न भइसकेका छन्भने कुनै निर्माणाधीन अवस्थामा रहेका छन् त कुनै अलपत्र अवस्थामा छन् ।
थानीमात्र नभएर, क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार पूर्णबहादुर खड्काले पनि आर्थिक समृद्धिबाट मात्रै मुलुकको विकास सम्भव भएको र त्यो विकास कांग्रेसले मात्रै गर्न सक्ने भन्दै मत मागिरहेका छन् । पूर्वी सुर्खेतको थप विकासका लागि आफ्नो क्रियाशीलता जारी रहने प्रतिवद्धता उनले जनाइरहेका छन् ।
वामगठवन्धनका उम्मेदवारहरु पनि विकासे देखाएर मतदाता फकाउँदै छन् । क्षेत्र नं. १ बाट वामगठवन्धनबाट प्रतिनिधिसभातर्फका उम्मेदवार धु्रवकुमार शाहीले पनि पाँच बर्षभित्र प्रत्येक गाउँमा विजुली पु¥याउने आश्वासन दिएका छन् । आफ्ना चुनावी कार्यक्रमहरुमा उनले विकासका लागि विद्युत आवश्यक पर्ने भएकोले उनले आफू निर्वाचित भएमा पाँच बर्षभित्र क्षेत्र नं. १ का सवै गाउँमा विजुली पु¥याउने उल्लेख गरेका छन् ।
यसैगरी वामगठवन्धनबाटै क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नवराज रावतले पनि विकासका कुरा उठाइरहेका छन् । प्रत्येक विद्यालयमा पुस्तकालय, प्रत्येकलाई स्वच्छ खानेपानी, स्थानीय तहहरुमा सिंचाई सुविधा पु¥याउने बाचा गर्दै मतदातासंग उनले मत मागेका छन् ।
त्यसैगरी क्षेत्र नं. २ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार विन्दमान विष्टले पनि सबै स्थानीय तहमा फलफूल, तरकारी, खाद्यबाली, पशुपालन र बेमौसमी तरकारी उत्पादनका पकेट क्षेत्रहरु निर्धारण गरी उत्पादन वृद्धि गर्ने, तीन वर्षभित्र आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा, दुध, तरकारी, फलफूल र दलहन उत्पादनमा आत्मनिर्भर बनाउँदै पाँच वर्षमा खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने भनी मत मागेका छन् । पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागु गर्ने लगायतका योजना कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको भन्दै उनले साथ दिन मतदातासँग आग्रह गरेका छन् ।
क्षेत्र नं. २ कमा कांग्रेस उम्मेदवार कमलराज रेग्मीले पनि वीरेन्द्रनगर प्रदेश नं. ६ को सम्भावित केन्द्र भएकोले यसको आर्थिक समृद्धिका लागि आफ्नो भूमिका रहने आश्वासन दिन्छन् । वीरेन्द्रनगरमा अहिले जतिपनि विकास निर्माणका कामहरु भइरहेका छन्, ती सवै कांग्रेसले नै गरेको दावी गर्दै उनले यही विकासलाई हेरेर मतदाताले कांग्रेसलाई जिताउने जिकिर गरेका छन् । यही क्षेत्रबाट वामगठवन्धनका उम्मेदवार यामलाल कँडेलले एमाले सरकारको पालामा गरिएको कामले नै अहिले सुर्खेतको विकास भइरहेको बताएका छन् । मप विश्वविद्यालयको केन्द्रीय भवन निर्माण, क्षेत्रीय अस्पतालको स्तर बृद्धि, प्रदेश नं. ६ लाई चीन जोड्ने उत्तरी नाकाहरु खोल्न पहल गर्नेलगायतका कामहरु एमालेले आफूले गरेको दावी गर्दछ ।
प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार १४:१८