रत्ननगर, चितवन, ६ मंसिर । ‘नेताले मात्रै हुँदैन, विश्व बदल्ने शक्ति युवा शक्ति नै हुन् । तिनै युवा शक्तिले साथ दिनुपर्छ । संसारका ठूला विद्रोह र आमूल परिवर्तनीय क्रान्ति युवा शक्तिले नै भएको छ ।’ मञ्चमा उक्लिएर यति भनेपछि खाली समयको सदुपयोग गर्दै जनवादी गायक खुसीराम पाख्रिनले प्रगतिशील गीत गाउन थाले ।

युवाहरु हो देश तिम्रै हो, भविष्य तिम्रै हो,
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो
करिब दिउँसोको २ बज्न लाग्दै थियो । गीतसंगीतको तालमा शरीर हल्लाउँदै गीत गाउँदै थिए जनवादी गायक ६५ वर्षीय पाख्रिन । गीतसंगीतको तालमा देखिएको उनको प्रस्तुतिमा युवा जोश भरिएको थियो । वृद्ध भए पनि तन्नेरी झैं हातको हाउभाउमा गीत पस्कँदा दर्शक बनेर आएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता पनि उत्साहित देखिन्थे ।
मंगलबार भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली चौरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलिसभा राखिएको थियो । मध्याह्न १२ बजे नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आउने कार्यक्रम केही ढिला भएपछि उनले मञ्च पाएका थिए । खाली समयको सदुपयोग गर्दै थिए पाख्रिन ।
हजाराैँको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ ।
केही बेर मच्चिएरै गीत गाए उनले । फुर्तिलो देखिएका पाख्रिनका शरीरमा कुनै विमारको छनक थिएन ।
युवा तिम्रो काँधमा आयो देश बचाउने अभिभारा
छाती खोली अघि बढ्ने अब तिम्ले हिम्मत गर ।
केहीबेरको प्रस्तुति सकेपछि औपचारिक कार्यक्रममा आशनग्रहण गरेलगत्तै उनी अस्वस्थ भएका । ‘एक्कैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो, तत्कालै २ः५५ बजे अस्पताल पु¥याइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरे’, ज्वाइँ प्रताप गुरुङले घटनाबारे जानकारी दिए।
नारायणी सामुदायिक अस्पतालका अनुसार माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक पाख्रिन हृदयाघात भई मृत्यु भएको हो । यति जोशका साथ गीत गाइरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तकहरु स्तब्ध भए ।
एकजना शुभचिन्तक मानबहादुर स्याङबोले भने, “पत्याउनै नसकिने घटना भयो । हुन त केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको पनि यसैगरी अप्रत्याशित रुपमा मृत्यु भएको थियो ।”
उनकै श्रद्धाञ्जलि सभाका क्रममा गीत गाएका पाख्रिन एक्कासि निधनको खबरले शुभेच्छुकहरु स्तब्ध हुनु स्वाभाविकै हो । आज ओली र प्रचण्डले भरतपुरमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिए ।
कहिल्यै मिडिया नखोज्ने गायक पाख्रिन
विसं २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिएका पाख्रिन प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा थिए । झण्डै ५०० गीत रहेको उनको करिब २०० गीत प्रकाशित र संगीतबद्ध नै भएको अनुमान गर्छन् गायक हरि योञ्जन ।
उनका अनुसार शुरुआती कालदेखि नै गीतसंगीतमा रुचि राख्ने पाख्रिन २०३५ सालदेखि औपचारिक गीतसंगीतमा लागे । अहिलेसम्म कुनै मिडिया खोजेर उनले प्रचार गरेनन् । जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुःख र मुक्ति आन्दोलन तथा परिवर्तनको क्षेत्रमा उनको योगदान छ । विसं २०३८ मा उनले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिक रुपमै ल्याए ।
‘गैती बेल्चा उचालेर, पहरालाई छिचोलेर’ भन्ने गीत उनको निकै चर्चित भएको अनुभव सुनाउँछन् गायक योञ्जन । योञ्जनले धेरै गीत उनीसँग गाएका छन् । योञ्जन जनवादी संस्कृतिक मोर्चामै छँदा पाख्रिन पूर्णकालीन प्रगतिशील सांगीतिक क्षेत्रमा लागेका थिए ।
कालो वनको बीचैमा खेतालाको गाउँ
सानासाना झुपडी, छैन आमाबाबु ।
मजदुरको वास्तविक अवस्थालाई शब्दमा उतारेर उनले सांस्कृतिक आन्दोलन नै अघि बढाए । त्यो मात्रै होइन, पाख्रिनको महिला अधिकार र मुक्तिको अभियानमा समेत उत्तिकै योगदान रहेको योञ्जन बताउँछन् ।
हामी चेली विरानो गाउँमा
नौ डाँडा पारि
सम्झेर आमालाई रुन्छिन् धरधरी ।
महिला केन्द्रित यो गीतले त्यो समयमा चर्चा पाएको थियो । उनको गीतमा क्रान्ति, साहस र मुक्तिका कुरा छन् । शुरुमा वेदना सांस्कृतिक समूहमा रहेका उनी जनवादी सांस्कृतिक हस्ती थिए । सामना सांस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिले पनि जीवन्त रहेको शुभचिन्तक संगीता भट्टराई बताउँछिन् ।
अर्का गायक चेतन सापकोटा पाख्रिन जनवादी गीतसंगीतका भीष्मपितामह रहेको बताउँछन् । “मिडिया कहिल्यै खोज्नु भएन, खाली जनताका लागि मात्रै गाउने गर्नुहुन्थ्यो,” सापकोटाले भने, “बिना मिडिया टोलटोलमा जागरण ल्याउने जनताले बनाएको गायक हुनुहुन्थ्यो पाख्रिन ।” उनका अनुसार जनताकै आँगनमा सिक्ने र सिकाउने भएकाले अरू कतिपय गायक मिडिया प्रचारबाट गायक बने पनि उहाँ जनताको आँगनबाट बनेका गायक थिए ।
प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार १४:४०