सुर्खेत, ४ मंसिर । वीरेन्द्रनगर ३ यरीचोकमा सोमवार नेपाली कांग्रेसले चुनावीसभा गरेको छ । सभामा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले बोल्दै जिल्लाको विकासका लागि विगतमा आफू खटिएको र यसपटकको निर्वाचनमा निर्वाचित भए अझ खट्ने बताएका छन् ।
उनले सदरमुकाम वीरेन्द्रनगरमा ९ किमी फोरलेन सडक निर्माण भइरहेको, चक्रपथ, खानेपानीको संकट समाधान गर्न भेरीको पानी लिफ्ट गरेर ल्याउने तयारी भइरहेको जानकारी दिदैं विकासको काम कांग्रेसको पालामा धेरै भएकोले यसपटकको निर्वाचनमा कांग्रेसलाई नै जिताउन मतदातासंग अपिल गरे । मुलुकको निकास र विकासको लागि कांग्रेस नै समाधानकर्ता भएको दावी उनको थियो ।
सुर्खेत क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आफू निर्वाचित भए वीरेन्द्रनगरको समृद्धि र नागरिकको सेवामा अहोरात्र खटिने प्रतिवद्धता जनाए । उनले जनतालाई विकास चाहिएको र त्यो विकास कांग्रेसले मात्रै गर्ने उल्लेख गरे । पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालले विगतमा झैं यसपटकको प्रतिनिधि र प्रदेशसभामा पनि कांग्रेसलाई जिताउन आव्हान गरेका छन् ।
यस्तै, काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका सचिव भूपेन्द्र खत्री तथा प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सबैलाइ जिताउन आग्रह गरेका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरापालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश नं. ६ को राजधानीको केन्द्र वीरेन्द्रनगर नगरपालिकासंंगै समग्र प्रदेशको समृद्धिका लागि काँग्रेसलाइ जिताउन मतदाताहरुसंग अपिल गरे ।
कार्यक्रममा काँग्रेस क्षेत्र नं. २ सुर्खेतका सभापति नारायण कोइराला र रामकुुमारी थापाको समेत उपस्थिति रहेको थियो ।
यसैबीच, पश्चिम क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकता भएको थानीले बताएका छन् । विकासका लागि विगतमा आफू खटिएको र यसपटकको निर्वाचनमा निर्वाचित भए अझ बढी खट्ने पनि जनाएका छन् । सोमवार नै पंचपुरी नगरपालिका वडा नं. २ सालकोटमा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार थानीले कांग्रेसको पहिचान नै विकास भएको उल्लेख गरे । अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्र विकासका दृष्टिले केही पछाडि परेको स्वीकार्दै उनले आफू निर्वाचित भए यहाँको विकासका लागि अहोरात्र खट्ने जनाए । चौकुने सिमेन्ट, लखरपाटा सिमेन्ट, गुटु बेनी सडकलाई आफूले पहिलो प्राथमिकतामा राखेको भन्दै नेता थानीले कांग्रेसलाई विजयी बनाउन आव्हान गरे ।
बलबहादुर रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशी, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावत, पंचपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापा, कांग्रेस सुर्खेतका पूर्व सचिव पदमदेव गिरी, क्षेत्रीय सचिव लालबीर भण्डारी, कांग्रेस जिल्ला समिति सदस्य गजराज जोशीलगायतले विकासका लागि कांग्रेसलाई जिताउन आव्हान गरेका थिए ।
प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार ११:५३