सुर्खेत, ३ मंसिर । यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस सुर्खेतले प्रचारप्रसारलाई व्यापकता दिएको छ । सुर्खेत क्षेत्र नं. २का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्व मन्त्री हृदयराम थानी, प्रदेश सभा उम्मेदवार कमलराज रेग्मी, समानुपातिक उम्मेदवारहरु गोविन्दबहादुर मल्ल, पार्वती शाही, पार्वती धौलाकोटीले सदरमुकाम र ग्रामीण क्षेत्रमा गरी दिनमा आधा दर्जन कार्यक्रममा सहभागी भइ मतदातासंग मत मागेका छन् ।
आइतवार विहान थानी, रेग्मीसहितका उम्मेदवाहरुले वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को पातालगंगा र वीरेन्द्रनगर ८ को खजुरामा चुनावी सभामार्फत मत मागेका छन् भने दिउँसो नेता थानी पंचपुरीको बावियाचौरको चुनावी सभामा सहभागी भएका छन् । कांग्रेसका उम्मेदवारहरु दैनिक ४ देखि ६ वटा कार्यक्रमसम्म सहभागी भइ जिल्लाको विकास निर्माणको कामलाई जोड दिएका छन् ।
पञ्चपुरी नगरपालिकाको बावियाचौरमा आयोजित सभामा बोल्दै नेता थानीले पश्चिमको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । पश्चिम जोड्ने सडक, चौकुने सिमेन्ट, लखरपाटा सिमेन्टहरु पश्चिम सुर्खेतको विकासको मेरुदण्ड भएको हुँदा आफू निर्वाचित भएमा यी योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने आश्वासन दिए । उनले संविधान दिएको कांग्रेसले संविधान कार्यान्वयन गर्न र मुलुकलाई समृद्धिको दिशातर्फ लैजानका लागि सवैले फेरि पनि कांग्रेसलाई मत दिएर बिजयी बनाउन आह्वान गरे ।
बावियाचौरका सभापति नरेन्द्र शाहीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल, पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, उपप्रमुख मुक्ति रेग्मी, कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावत, कांग्रेस जिल्ला सदस्य गजराज जोशी, पूर्व सचिव पदमदेव गिरी, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, पार्वती गिरी, क्षेत्रीय सभापति लालवीर भण्डारीलगायतले विकासका लागि कांग्रेसलाई जिताउनुपर्नेमा जोड् दिएका थिए ।
यसैबीच, आइतबार नै वीरेन्द्रनगर ९ पातालगंगामा भएको चुनावी सभालाई पनि थानीले सम्बोधन गरेका छन् न। सम्बोधनका क्रममा उपत्यकाभित्र विश्व आकर्षणको केन्द्रका रुपमा रहेको काँक्रेबिहारलाइ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूले विगतदेखि नै चासो लिएको र अब पनि आफूले जितेमा त्यसलाई निरन्तरता दिने बताए । उपत्यकाभित्रको चक्रपथ निर्माणमा जोड् दिने बताउँदै उपत्यकाको खाने पानी र प्रदेशको समृद्धिका लागि निरन्तर लागि पर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १७:२५