सुर्खेत, ३ मंसिर । सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उम्मेदवार एवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सम्पूर्ण सिम्ता क्षेत्रलाइ रोग, भोक र गरिबीबाट मुक्ति दिन नेपाली काँग्रेसलाइ जिताएर एकलौटी सरकार बनाउन मतदातालाइ आग्रह गरेका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा आइतबार सिम्ताको काप्रीचौर र राकममा आयोजित चुनावी अमसभालाइ सम्बोधन गर्दै उनले काँग्रेसलाइ जिताएमा सिम्ता क्षेत्रका ग्रामीण सडकहरु छिन्चु–जाजरकोट सडकखण्डसंग जोडी सिम्ता दराको सम्पूर्ण विकास गर्ने प्रतिवद्धता जनाएका छन् । सिम्ता क्षेत्रका जनताले आफ्नै आँगन अगाडि उच्च शिक्षा हाँसिल गर्न सकुन भनेर क्याम्पसको समेत स्थापना भैसकेको उल्लेख गरे ।
सुर्खेतका पूर्वी क्षेत्रमध्ये सिम्ता क्षेत्र पिछडिएको हुँदा त्यसलाइ समृद्ध बनाउन र उक्त क्षेत्रका जनताको आर्थिक वृद्धिदर उकास्न नेपाली काँग्रेसलाइ मत दिन खड्काले आग्रह गरे । पूर्व गृह मन्त्री समेत रहेका खड्काले नेपाली काँग्रेसलाइ भोट दिएर केन्द्रमा पठाएको स्मरण गर्दै पूर्वी क्षेत्रमा बाटाघाटा, पुलपुलेसा, विद्यालय, अस्पताल स्वास्थ्य चौकीलगायतको स्थापनामा आफूले महत्वपूर्ण भूमिका खेलेको जनताले नबिर्सेकाले यो पटक पनि काँग्रेसका उम्मेदवारहरुलाइ जिताउने विश्वास व्यक्त गरे ।
यस अघिका निर्वाचनमा सिम्ता क्षेत्रका जनतासंग आफूले गरेका वाचा क्रमिक रुपमा पूरा गर्दै आएको स्मरण गराउँदै प्रतिनिधि सभाका उम्मेदवार खड्काले यो क्षेत्रमा गर्न बाँकी अन्य विकासका लागि काँग्रेसलाइ नै मत दिनुपर्नेमा जोड् दिए । संविधानको कार्यान्वयन भनेकै यो निर्वाचन भएकाले उल्लेख गर्दै नेपाली काँग्रेसलाइ बहुमत दिएर ५ बर्षका लागि सरकार चुन्न सके देशमा लोकतन्त्रको संस्थागत विकास हुने उनको धारणा थियो ।
नेपाली काँग्रेस काप्रीचौरका गाउँ कार्य समिति सभापति धनबहादुर केसी र राकम गाउँ कार्य समितिका सभापति राजेन्द्र सिंहको अध्यक्षतामा छुट्टाछुट्टै भएको चुनावी कार्यक्रममा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) का उम्मेदवार टेकबहादुर सिंह, क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला समन्वय समितिका सदस्यहरु विरेन्द्र रावत, बालकुमारी पुन, वडाअध्यक्ष गेहेन्द्र हमाललगायतले बोलेका थिए ।
यसैबीच, कार्यक्रममा सिम्ता बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष पुस्कर वादी, सिम्ता गाउँपालिका ४ का महिला सदस्य लक्ष्मी विक, सिम्ता दलित एकता समाजका अध्यक्ष तथा अनेरा स्ववियुका जिल्ला सदस्य किम सोनी, वादी समाज विकास मञ्चका संस्थापक अध्यक्ष सावित्री वादीलगायतले काँग्रेसमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १७:१५