काठमाडाैँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।”
“अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुँदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो”, डा जैसवालले भने । उनको उपचारमा डा जैसवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न थिए ।
शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपु¥याउनु तीन घण्टाअघि नै उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहेका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौँ आएका थिए ।
छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ । श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेता दाहाल काठमाडौँ पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल आएका थिए । उनीसँगै उनकी पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुगेकी थिइन् ।
वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुलावस्थामा अस्पताल पुगेकी थिइन् ।
शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ अाएकाे बताइएको छ । डा जैसवालले भने, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।” अन्य एक प्रतिशतमा मस्तिष्काघातको काराण हुन सक्ने स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा जैसवालले बताए ।
राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि
पूर्वप्रधानमन्त्री दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशप्रति राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जलि दिइएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुगेका थिए ।
प्रकाशको श्रद्धाञ्जलिका लागि अहिले पार्टी कार्यालयमा भीड लागेको छ । प्रकाशलाई पेरिसडाँडामा श्रद्धाञ्जलिपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिइन् ।
पेरिस डाँडा लैजानु अगाडि प्रकाशको निधनको खबर पाएपछि बिहानैदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शुभचिन्तकको भीड लागेको थियो ।
हृदयाघात भएपछि बिहान पौने ६ बजे नर्भिकमा ल्याइएका प्रकाशको निधनको खबर बिहानै सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकको भीड लागेको थियो । अस्पतालले भने निधनको घोषणा मध्याह्न १२ बजेतिर मात्र गरेको थियो ।
अस्पताल परिसरमा कलाकारदेखि विभिन्न पार्टीका नेता कार्यकताको भीड लागेको थियो । माओवादी केन्द्र, एमाले, काँग्रेसलगायत अन्य दलका नेता पनि प्रकाशको निधनको खबर थाहा पाएर नर्भिक अस्पताल पुगेका थिए ।
माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुगेका थिए ।
सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहेका अध्यक्ष दाहाल बिहान हेलिकप्टरबाट काठमाडाैँ आएका थिए । उनी भावुक हुँदै करिब १२ः३० बजे छोरा निधन भएको अस्पताल नर्भिक पुगेका थिए । नेता दाहाल पुगेपछि मात्र अस्पतालले औपचारिक रुपमा निधन भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो ।
प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १६:२८