सुर्खेत, ३ मंसिर । पूर्व मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फका उम्मेदवार हृदयराम थानीले आगामी मंसिर २१ गते हुने निर्वाचनमा वामगठवन्धनदेखि
कांग्रेस कदापि नडराउने बताएका छन् । कांग्रेसले राजतन्त्र फालेको, पंचायत फालेको, जंगलको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएकोले कांग्रेसदेखि बरु अरु डराउने उनले जनाएका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा शनिवार भएको चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै नेता थानीले कांग्रेससंग हारिने डरले एमाले र माओवादीले गठवन्धन गरेको जिकिर गरे । देशमा देखिएको अन्यौलको निकास र समृद्धिको विकास कांग्रेस बाहेक अन्य दलले गर्न नसक्ने हुँदा कांग्रेसदेखि आत्तिएर एमाले र माओवादीले गठवन्धन गरेको उनको भनाइ छ । जंगलमा रुम्मलिएको अवस्थामा संसदसम्म ल्याउने कांग्रेस भएको, प्रचण्डलाई दोस्रोपटक प्रधानमन्त्री बनाउने कांग्रेस भएपनि माओवादीले कांग्रेसको गुन विर्सिएको नेता थानीले टिप्पणी गरे । सुर्खेतको निरन्तर विकासका लागि कांग्रेसको जीत अनिवार्य भएको दावी उनले गरेका छन् ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रदेशको विकासका लागि कांग्रेसलाई जिताउन आव्हान गरेका छन् । उनले विपक्षी गठवन्धनको लोभलालचमा नफस्नसमेत सुझाव दिएका छन् ।
वडा नं. ४ का वडासभापति श्याम भारतीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री खड्गबहादुर बस्याल, समानुपातिक उम्मेदवार एवं कांग्रेस सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्ल, कांग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्री, नगर सभापति एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, महिला संघका अध्यक्ष एवं समानुपातिक उम्मेदवार पार्वती गिरी, स्थानीय ईश्वरीप्रसाद गौतमलगायतले कांग्रेसको जीतका लागि एकजुट हुन आव्हान गरेका छन् । सो अवसरमा दर्जन बढीले एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
यसैबीच, आजै वीरेन्द्रनगरको गढीमा आयोजित चुनावी सभालाइ पनि थानीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वीरेन्द्रनगर उपत्यकाको दृश्यावलोकन र पिकनिक स्पर्टका रुपमा रहेको गढीलाइ अझ पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन आफूले पहल गर्ने बताए । यही मंसिर २१ मा हुने निर्वाचनमा काँग्रेसलाइ जिताएमा प्याराग्लाइडिङको सम्भावना रहेको यो क्षेत्रबाट स्थायी रुपमा प्याराग्लाइडिङको व्यवसायलाइ प्राथमिकता दिइ पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क)का उम्मेदवार कमलराज रेग्मीले पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गइरहेको छेडादेखि गढीसम्मको सडक सुधार गर्दै यहाँका वासिन्दाको आर्थिक समृद्धिका लागि काँग्रेसले प्राथमिकताका साथ काम गर्ने बताए । नेपाली काँग्रेस सुर्खेतका सभापति समेत रहेका रेग्मीले वाम गठबन्धनको हावामा नलागेर काँग्रेसका कार्यकर्ताहरुलाइ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे ।
यस्तै, नेपाली काँग्रेस वडा कार्य समिति वीरेन्द्रनगर ४ र ६ मा पनि छुट्टाछुट्टै चुनावी कार्यक्रम सम्पन्न भएका छन् ।
प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार ०८:०८