वाम गठवन्धनदेखि कांग्रेस डराउँदैनः थानी
सुर्खेत, २ मंसिर । पूर्व मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फका उम्मेदवार हृदयराम थानीले आगामी मंसिर २१ गते हुने निर्वाचनमा वामगठवन्धनदेखि
कांग्रेस कदापि नडराउने बताएका छन् । कांग्रेसले राजतन्त्र फालेको, पंचायत फालेको, जंगलको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएकोले कांग्रेसदेखि बरु अरु डराउने उनले जनाएका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा शनिवार भएको चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै नेता थानीले कांग्रेससंग हारिने डरले एमाले र माओवादीले गठवन्धन गरेको जिकिर गरे । देशमा देखिएको अन्यौलको निकास र समृद्धिको विकास कांग्रेस बाहेक अन्य दलले गर्न नसक्ने हुँदा कांग्रेसदेखि आत्तिएर एमाले र माओवादीले गठवन्धन गरेको उनको भनाइ छ । जंगलमा रुम्मलिएको अवस्थामा संसदसम्म ल्याउने कांग्रेस भएको, प्रचण्डलाई दोस्रोपटक प्रधानमन्त्री बनाउने कांग्रेस भएपनि माओवादीले कांग्रेसको गुन विर्सिएको नेता थानीले टिप्पणी गरे । सुर्खेतको निरन्तर विकासका लागि कांग्रेसको जीत अनिवार्य भएको दावी उनले गरेका छन् ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रदेशको विकासका लागि कांग्रेसलाई जिताउन आव्हान गरेका छन् । उनले विपक्षी गठवन्धनको लोभलालचमा नफस्नसमेत सुझाव दिएका छन् ।
वडा नं. ४ का वडासभापति श्याम भारतीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री खड्गबहादुर बस्याल, समानुपातिक उम्मेदवार एवं कांग्रेस सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्ल, कांग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्री, नगर सभापति एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, महिला संघका अध्यक्ष एवं समानुपातिक उम्मेदवार पार्वती गिरी, स्थानीय ईश्वरीप्रसाद गौतमलगायतले कांग्रेसको जीतका लागि एकजुट हुन आव्हान गरेका छन् । सो अवसरमा दर्जन बढीले एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
गढीलाइ पर्यटकीय क्षेत्र बनाइने
यसैबीच, आजै वीरेन्द्रनगरको गढीमा आयोजित चुनावी सभालाइ पनि थानीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वीरेन्द्रनगर उपत्यकाको दृश्यावलोकन र पिकनिक स्पर्टका रुपमा रहेको गढीलाइ अझ पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन आफूले पहल गर्ने बताए । यही मंसिर २१ मा हुने निर्वाचनमा काँग्रेसलाइ जिताएमा प्याराग्लाइडिङको सम्भावना रहेको यो क्षेत्रबाट स्थायी रुपमा प्याराग्लाइडिङको व्यवसायलाइ प्राथमिकता दिइ पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क)का उम्मेदवार कमलराज रेग्मीले पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गइरहेको छेडादेखि गढीसम्मको सडक सुधार गर्दै यहाँका वासिन्दाको आर्थिक समृद्धिका लागि काँग्रेसले प्राथमिकताका साथ काम गर्ने बताए । नेपाली काँग्रेस सुर्खेतका सभापति समेत रहेका रेग्मीले वाम गठबन्धनको हावामा नलागेर काँग्रेसका कार्यकर्ताहरुलाइ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे ।
यस्तै, नेपाली काँग्रेस वडा कार्य समिति वीरेन्द्रनगर ४ र ६ मा पनि छुट्टाछुट्टै चुनावी कार्यक्रम सम्पन्न भएका छन् ।
शैक्षिक विकासका लागि पनि काँग्रेस – खड्का
सुर्खेत, २ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले गाउँमा विकास निर्माण र जनताको आर्थिक समृद्धिका लागि आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा काँग्रेसलाइ जिताउन आग्रह गरेका छन् । आफ्नो चुनावी कार्यतालिकाअन्तर्गत आज सुर्खेतको डाँडाखाली र राकममा आयोजना गरिएका आमसभालाइ सम्बोधन गर्दै खड्काले गाउँको बाटाघाटा पीँच गर्न, गाउँमा सुविधायुक्त अस्पताल निर्माण, विद्यालयका भौतिक पूर्वाधारदेखि शैक्षिक अवस्था सुधार गर्दै गाउँमै उच्च शिक्षा प्राप्त गर्नका लागि काँग्रेसलाइ रोज्न आग्रह गरे ।
लोकतन्त्रको संस्थागत विकास काँग्रेसले नै गर्न सक्ने दावी गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले विधिको शासन स्थापनाका लागि आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा काँग्रेसलाइ मतदान गर्न अनुरोध गरे । सिंहदरबारको अधिकार गाउँमा ल्याएर प्रादेशिक संरचनामार्फत जनताको अधिकार संरक्षण गर्न नेपाली काँग्रेसले मात्र सक्ने उनले दावी गरे ।
नेपाली काँग्रेस साविकको खानीखोला गाउँ समिति सभापति टोपबहादुर गुरुङ र डाँडाखाली गाउँकार्य समिति सभापति चेतबहादुर रेग्मीको सभापतित्वमा छुट्टाछुट्टै चुनावी आमसभा सम्पन्न भएको थियो । यसैगरी, चुनाव प्रचारप्रसारका क्रममा आजै गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनको नेतृत्वमा गुर्भाकोट नगरपालिकाका विभिन्न वडाहरुमा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम गरेको छ ।
पश्चिम सुर्खेतको विकासका लागि कांग्रेस -थानी
सुर्खेत, २ मंसिर । कांग्रेस निकट नेपाल शिक्षक संघको चौकुने गाउँपालिकास्तरीय शिक्षक भेला बिजौरामा शनिवार सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फका उम्मेदवार हृदयराम थानीले पश्चिमको विकासका लागि कांग्रेसलाई जिताउनैपर्ने बताए ।
नेता थानीले पश्चिमको विकासका लागि थुप्रै पूर्वाधार भएको हुँदा आफूले जितेमा ती कामहरु पूरा गर्ने प्रतिवद्धता जनाए । चौकुने सिमेन्ट उद्योगको लागि अति आवश्यक बड्डिचौर—गुटु सडक विस्तार र बड्डिचौर—बेनीघाट सडक संचालनका लागि पूर्वाधार तयार पर्ने उनको भनाइ छ । पश्चिम सुर्खेतको विकासका लागि मेरुदण्ड मानिएको गुटु—बेनीघाट सडक र चौकुने सिमेन्ट उद्योग स्थापनाको लागि आफूले प्राथमिकता दिने नेता थानीले जनाए ।
कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशीले निर्वाचनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसका लागि तयार रहन निर्देशन दिए । नेपाल शिक्षक संघका अध्यक्ष गोविन्द गिरीले समाजमा अगुवाईको भूमिका निर्वाह गर्न सुझाव दिए । शिक्षक संघ चौकुने गाउँपालिकाका अध्यक्ष नरबहादुर बान्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिजौरा माविका प्रअ ठम्मर विसीलगायतले बोलेका थिए ।
यसैगरी शनिवार नै पंचपुरी नगरपालिका वडा नं. ८ (साविकको सालकोट र विद्यापुरमा पनि कांग्रेसको चुनावी सभा सम्पन्न भएको छ । सभामा प्रदेश
समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, कांग्रेस क्षेत्रीय सभापति लालवीर भण्डारी, पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, नेताहरु पदमदेव गिरी, कृपाराम थापा, नेत्र शाहीलगायतले संविधान कार्यान्वयन र विकासको लागि कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । सभा विद्यापुरका सभापति तिलक पाण्डेको अध्यक्षतामा भएको थियो ।
विकासको निरन्तरताका लागि काँग्रेसको जित आवश्यक -सिंह
नेपाली काँग्रेसका युवा नेता एवम प्रदेश सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ (क) बाट उम्मेदवार टेकबहादुर सिंहले मूलुक हरेक परिवर्तनमा साथ दिनका लागि काँग्रेसको जित आवश्यक रहेको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा आज सुर्खेतको आग्रीगाउँमा मतदातासंग भेटघाट गर्दै सिंहले वर्तमान अवस्थामा संविधानको कार्यान्वयन र स्थानीय तहको उचित व्यवस्थापनका लागि आसन्न प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनमा काँगेसलाइ मत दिन आग्रह गरे ।
सुर्खेतको क्षेत्र नं. १ मा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै आगामी दिनमा पनि अधुरा विकासको निरन्तरता र विकासका नयाँ योजनाका लागि काँग्रेसलाइ मत दिनुपर्नेमा सिंहले जोड् दिए ।
काँग्रेस गाउँ कार्य समिति साविकको आग्रीगाउँका सभापति अमर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्क पोखरेललगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (ख) मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका झकबहादुर डाँगीले पनि चुनवी प्रचारप्रसारलाइ तिब्रता दिएका छन् । आज उनले नेटमा पुगेर मतदातासंग भेटघाट गरेका छन् । मतदाता भेटघाट कार्यक्रममा डाँगीले प्रदेशको समृद्धिका लागि काँग्रसलाइ जिताउन आग्रह गरे ।
नेपाली काँग्रेस साविकको नेटा गाउँ कार्य समितिका सभापति झकबहादुर विरकट्टाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उम्मेदवारहरुको पहिलो प्राथमिकता ‘विकास’
दैलेख, २ मंसिर । चुनावी प्रचारप्रसारका क्रममा नेपाली काँग्रेस दैलेखले आज क्षेत्र नं. १ मा विभिन्न कार्यक्रम गरेको छ । आज नौमूलेमा भएको चुनावी आमसभालाइ सम्बोधन गर्दै प्रदेश सभा सदस्य पदका लािग दैलेख क्षेत्र नं. १ (ख) का उ्ममेदवार जगतजंग थापाले पर्यटकीय स्थल नौमूले द्वारी झरना जानका लागि सडकको स्तरोन्नति गरिने बताएका छन् । आफूले जितेमा आफ्नो क्षेत्रलाइ विकासको क्षेत्रमा नमुना बनाउने प्रतिबद्धता जनाए ।
यस्तै, प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) मा काँग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर विसीले आफूले जितेमा घोडावास, ब्यूरेनी खेत, डाँडापराजुल, बडाभैरब हुँदै मध्यपहाडी लोकमार्गसम्म सडक सञ्जाल विस्तार गर्ने बताएका छन् । उनले प्रत्येक स्थानीय तहका सबै वडाहरुमा विद्युत पु¥याउने, पूर्वाधार निर्माणसहित गुणस्तरीय शिक्षा प्रदान गर्नेलगायतका एजेण्डाहरु रहेको बताउँदै समृद्ध दैलेख बनाउनका लािग काँग्रेसलाइ जिताउन मतदातासंग आग्रह गरे ।
प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार १८:०५