नुवाकोट/रोल्पा २ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ ।
नुवाकोटमा पूर्वमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी एम्बुस विस्फोट गराइएको छ भने रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।
नुवाकोटको विस्फोटमा ६ जना कांग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन् भने रोल्पामा नेताहरू सवार गाडीनजिकै ठूलो आवाजमा विस्फोट भए पनि खासै क्षति भएको छैन ।नुवाकोट सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा भएको विस्फोटमा परी तीन जनाको अवस्था गम्भीर छ ।
घाइतेलाई हेलिकोप्टरले उद्धार गरी काठमाडौं लगिएको छ । एम्बुसमा परी कांग्रेस कार्यकर्ता चढेको एउटा गाडी पूर्ण रूपमा ध्वस्त भएको छ । महत चढेको गाडीमा भने क्षति नभएको प्रहरीले जनाएको छ । शुक्रबारै ककनी गाउँपालिकाको रानीपौवा बजारमा कांग्रेसले गरेको आमसभामा झडप भएको छ । झडपमा एक कांग्रेस कार्यकर्ता घाइते भएका छन् । महत नुवाकोट-१ का उम्मेदवार हुन् । उनी वाम गठबन्धनका हितबहादुर तामाङसँग प्रतिस्पर्धामा छन्।
महतलाई लक्ष्य गरी ककनी गाउँपालिका-५ मा एम्बुस विस्फोट गराइएको हो । विस्फोटमा परी कांग्रेस कार्यकर्ता उपेन्द्र मि श्र, भेषबहादुर तामाङ, सबिन लामा, लीला घर्तीमगर, रामकुमार राई र रमेश राई घाइते भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।
बिहान सवा १० बजे घटना भए पनि चार घन्टापछि सेनाको हेलिकोप्टरले घाइते भेषबहादुर तामाङलाई त्रिवि शिक्षण अस्पताल लगेको थियो भने श्री एयरलाइन्सको हेलिकोप्टरले घाइते उपेन्द्र मिश्र, रामकुमार राई र सविन लामालाई ग्रान्डी अस्पताल धापासीमा उपचारका लागि पुर्याएको थियो।
लीला घर्तीमगर र रमेश राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
विस्फोटमा परी ककनी-५, डाँडागाउँ सिकारीचौरको कच्ची सडकमा राखिएको बा.१६च ६६५ नम्बरको स्कोर्पियो गाडी पूर्णरूपमा ध्वस्त भएको छ । महत चढेको बा.१४च ७०४१ नम्बरको गाडीमा भने कुनै क्षति भएको छैन । ककनीकै रानीपौवा बजारमा भेटघाट कार्यक्रम सकेर वडा नं. ७ को चतुरालेमा चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस नेता-कार्यकर्ता विद्युतीय धरापमा परेको कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले बताए । बम विस्फोट गराउनेको खोजी भइरहेको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल र प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा थप सुरक्षाकर्मी घटनास्थल पुगेर अनुसन्धानमा लागेको बताइएको छ । डा. महतले एम्बुस प्रहार र विस्फोटको घटना हत्या-हिंसामा विश्वास राख्नेहरूले गराएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने मनसायले शक्तिशाली विस्फोट गराइएको प्रतिक्रिया दिँदै भने, ‘यो गम्भीर घटना हो, यसको तुरुन्तै छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्छ ।’
रोल्पा विस्फोटमा क्षति भएन
निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । ‘हामीलाई लक्ष्य गरेर बम हानियो । गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो’, निवर्तमान सभामुख घर्तीले भनिन्, ‘संयोगले केही भएन । हामी सुरक्षित छौं ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले रोल्पा नगरपालिका-३, भदौरे जंगलमा बम विस्फोट गराइएको जानकारी दिए । जंगलबाट फालिएको बम सडकसम्म आइपुगेन । सडकबाट केही माथि जंगलमा बम पड्केको थियो । विस्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जंगलमा विस्फोट नभएको अर्को बम पनि फेला परेको छ ।
सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर दूरीमा बम विस्फोट भएको छ । सातदोबाटोमा प्रहरीको चेक प्वाइन्टबाट तीन किलोमिटर नजिक पर्छ । पछिल्लो समय जिल्लामा शृंखलाबद्ध आक्रमण भइरहेका छन् । यसअघि वाम गठबन्धनकै उम्मेदवार वर्षमान पुन र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भएका थिए । बिहीबार पनि घोडागाउँमा सुतली बम हानिएको थियो ।
प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार ०७:४५