सुर्खेत, २९ कात्तिक:आसन्न मंसिर २१ गतेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका क्रममा कांग्रेसका उम्मेदवारहरु जिल्लाका दूरदराजमा पुगेर मतदातासंग मत मागिरहेका छन् । जिल्लामा कांग्रेसले गरेको विकास निर्माण र मुलुकमा संविधान दिएर ठूला उपलव्धी हासिल गरेकोले आगामी निर्वाचनमा पनि कांग्रेसलाई जिताउन उनीहरुले आव्हान गरिरहेका छन् ।
यसैक्रममा बुधवार सुर्खेत क्षेत्र नं. २ अन्तर्गत पश्चिम चौकुने गाउँपालिकाको गुटुमा प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले सम्बोधन गर्दै जिल्लामा विकासको लहर ल्याउन कांग्रेसले नै जित्नुपर्ने बताएका छन् । उनले पश्चिम सुर्खेतको विकासका लागि पनि अव थप पहल गरिने आश्वासन दिए ।
कार्यक्रममा क्षेत्र नं. २ को प्रदेश ख का उम्मेदवार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफू संसद भएपछि पश्चिमको विकासमा क्रान्ति आएको बताए । उनले कांग्रेसले थालेको अधुरा विकासका कामलाई पूरा गर्नका लागि पनि यसपटक कांग्रेसले नै जित्नुपर्ने उल्लेख गरे । उनले मुलुकमा विकास गर्ने र शान्ति ल्याउने पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु जोड दिए।कार्यक्रममा कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले विकास गर्नेलाई जिताउने कि विनाश गर्नेलाई जिताउने, छुट्याउने बेला आएको बताए ।
सो अवसरमा पूर्वमन्त्री शिवराज जोशी, खड्गबहादुर बस्याल, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, पदमदेव गिरी, कलाधर सापकोटा लगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आव्हान गरे । कार्यक्रम कांग्रेस गुटु सभापति मोहन थापाको अध्यक्षतामा भएको थियो ।
यसैवीच निर्वाचन क्षेत्र नं. २ को प्रदेश क अन्तर्गत वीरेन्द्रनगरका विभिन्न वडाहरुमा बुधवार कांग्रेसले चुनावी भेलाहरु गरेको छ । यसक्रममा वीरेन्द्रनगर ८ मा पनि चुनावी कार्यक्रम भएको छ । लालमति पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले अन्य पार्टीले कुरा मात्रै गर्ने तर कांग्रेसले काम बढी गर्ने भएकोले कांग्रेसलाई जिताउन आव्हान गरे । कांग्रेसीजन एक भएमा वाम गठवन्धनले कुनै फरक नपार्ने दावीसमेत उनले गरेका छन् ।
कांग्रेस सुर्खेतका सभापति एवं निर्वाचन क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार कमलराज रेग्मीले पार्टीले टिकट दिएर मूल्यांकन गरेको हुँदा अव जनताले मत दिएर विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस जितेमा विकास निर्माणको क्रान्ति ल्याउने दावीसमेत गरे ।
यस्तै समानुपातिक उम्मेदवार एवं कांग्रेस सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लले व्यक्तिभन्दा पनि पार्टीलाई जिताउन जोड दिए । यसैगरी बुधवार नै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र १० मा पनि चुनावी भेलाहरु भएका छन् । ती भेलाहरुमा कांग्रेसलाई आगामी
निर्वाचनमा जिताउन आव्हान गरिएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार १९:५६