राजविराज, २४ कात्तिक । सप्तरी भारदहस्थित बिपि माबिमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ ।
विद्यालयमा विगत २५ वर्षदेखि शिक्षकको अभाव हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएका कारण पठनपाठनमा समस्या हुने गरेका छन् ।
विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थीको चाप बढी रहेको विद्यालयका शिक्षक शिवशंकर मण्डलले दाबी गरे । विद्यालयमा करिब एक हजार भन्दा बढी विद्यार्र्थी अध्ययनरत् छन् । विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
सबैभन्दा बढी मावि र निमावि तहका विद्यार्थी रहेको र सो अनुरुप कक्षा कोठा एंव भौतिकपूर्वाधारको अभाव कारण कक्षा छुट्याउन समेत समस्या परेकाले एउटै कक्षामा एक सयदेखि एक सय ५० विद्यार्थी राखेर पढाउँदा शिक्षकले पढाएको कुरा बुझ्न समेत समस्या हुने गरेको कक्षा दशमा अध्यनरत छात्र नीरजकुमार माझीले बताए ।
दरबन्दीअनुसार मावि तहमा १० शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षकले मात्र अध्यापन गराइरहेको विद्यालयका प्रधानाध्यापक जयप्रकासप्रसाद गुप्ताले जानकारी दिए ।
मावि तहमा भने थप एकजना शिक्षक राहत दरबन्दीमा काम गरी रहेका छन् । त्यसमा पनि दुई महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारी अवकांस प्राप्त भएपछि सो विषय पढाउने शिक्षक नहुँदा निमाविस्तरको शिक्षकबाट पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रअ गुप्ताले बताए ।
त्यस्तै निमावि तहमासमेत पाँचजना शिक्षकको अवाश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उनले भने ।
निमाविको शिक्षक पनि बाध्यभएर माविमा पढाउनुपर्ने कारण यहाँ शिक्षकको अभाव देखिएको छ । मावि र निमावि तहमा शिक्षकको अभावका कारण विगत २५ वर्षदेखि निमाविको शिक्षक मावि र प्राविका शिक्षक निमाविमा पढाएर काम चलाउनु परिरहेको सोही विद्यालयका एक शिक्षकको गुनासो छ ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिपी मावि भारदहमा विद्यालय परिसरको पर्खाल भत्किएका कारण स–साना बालबालिका भागेर राजमार्गसम्म जाने गरेकाले बालबालिका दुर्घटनामा पर्नसक्ने सम्भावना पनि उतिकै रहेको सोही विद्यालयका अर्का शिक्षक लेखनाथ कोइरालाले बताए ।
विद्यार्थीको तुलनामा शिक्षक अभावका कारण सबैलाई एकै ठाउँमा एउटै कोठामा राखेर पठनपाठन गराउँदा आफूहरुलाई पढाएको शब्द पनि बुझन गाहे हुँदा परीक्षामा पास गर्न समेत समस्या हुने गरेको कक्षा ९ मा अध्यनरत अरविन्दकुमार मण्डलले गुनासो गरे ।
शिक्षक अभावका कारण कक्षा छुट्याएर एउटै कक्षामा १६० जना विद्यार्थी राखेर अध्यापन गराएका कारण आफूहरु राम्रो शिक्षा पाउन नसकेको मण्डलले बताए।
सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयले पिसिए शिक्षक दरबन्दी कट्टा गरेपछि शिक्षकको अभाव भएको बताइएको छ । अहिले कक्षा ९ र १० मा अनिवार्य नेपाली र जनसंख्या तथा वातावरण विषयको शिक्षक नहुँदा प्राविस्तरका शिक्षक गएर पढाउनुपर्ने बाध्यता रहेकोले यसप्रति सम्बन्धित निकायको ध्यान जानु जारुरी रहेको स्थानीय अभिभावकको भनाइ छ ।
यसैबीच बिपी मावि भारदहको नाममा करिब १४ बिगाहा जग्गा रहेकोले कक्षा १२ (प्लस टु) सञ्चालन हुनुपर्ने माग स्थानीयवासीको छ ।
सो क्षेत्रका अधिकांश विद्यार्थी १० कक्षा पास गरिसकेपछि पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता रहेकाले सोही विद्यालयमा प्लस टु सञ्चालन हुनुपर्ने माग स्थानीयवासीको छ । .
भारदह क्षेत्रमा सामुदायक विद्यालयमा प्लस टु नहुँदा त्यहाँका हजारौं विद्यार्थी सदरमुकाम राजविराज, कञ्चनपुर र विराटनगरलगायतका ठाउँमा गएर कक्षा १२ पढनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार १४:०९