सुर्खेत, २४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले जनताको प्रत्यक्ष सरोकारमा रहेको योजना विकास नै कांग्रेसको चुनावी एजेण्डा भएको बताएका छन् । उनले भने, ‘जनताको प्रत्यक्ष सरकोकारमा रहेको योजना नै मेरो योजना हुन् ।’
नेपाली कांग्रेस वडा नम्बर १ द्धारा वीरेन्द्रनगरको ढोडेखालीमा विहीबार आयोजित चुनावी सभामा बोल्दै सुर्खेत क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार थानीले भने, ‘म तपार्इंहरुकै भाई छोरा हुँ, तपाईंहरुको समस्या भनेको मेरो समस्याको, यसको समाधान गर्ने जिम्मा पनि मेरै हो ।’
सुर्खेत क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार थानीले कांग्रेसले योजनाबद्ध विकासको खाका तयार गरेको बताउँदै ६ नम्बर प्रदेशको
राजधानीवासीका लागि आवश्यक पानीको व्यवस्थापन गर्न भेरी नदीको पानी लिप्ट गर्ने योजना अघि सारेको र अहिले त्यो योजना कार्यान्वयनको चरणका रहेको बताए ।
पूर्व मन्त्री एवं पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले सरकार, सरकारी र जनता मिलेर देशमा समृद्धि ल्याउने अभियानमा सहयोग गर्न नेपाली कांग्रेसलाई सहयोग गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।
चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका सभापति एवं सुर्खेत क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार कमलराज रेग्मीले कांग्रेस जनताको मनमस्तिष्कमा रहेको हुनाले कांग्रेसले गरेका कामलाई मूल्याङन गरी चुनावमा सहयोग गर्न आग्रह गरे । उनले कांग्रेसले गरेको कामलाई जनताको घरदैलोमा पुर्याउन सके जतनाले आफै मूल्याङकन गर्ने दावी समेत गरे ।
वडा नम्बर १ का सभापति चन्द्रप्रसाद थानीको सभापतित्वमा भएको उक्त चुनावी सभामा प्रदेश सभाको समानुपातिक उम्मेदवार लोकबहादुर विश्वकर्मा, प्रदेशसभाको समानुपातिक उम्मेदवार पार्वती गिरी, नगर सभापति एवं नगरप्रमुख देवकुमार सुवेदी, पूर्व पार्टी सचिव कालीप्रसाद शाक्य, दलित संघका केन्द्रीय महासचिव सन्जुसिंह विक लगायतले समग्र सुर्खेतको विकासका लागि नेपाली कांग्रेसको विकल्प नभएको धारणा व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार ०५:४४