पाल्पा, २३ कात्तिक (रासस) । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दलहरु गाउँघरमा पुगेपछि चुनावी चहलपहल बढेको छ । जिल्लाका शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा चुनावी गतिविधि अघि बढेपछि मतदाता खुशी छन् ।
दलले भोट आफ्नो पक्षमा पार्न चुनावी सभा, पार्टी कार्यालय स्थापनादेखि घरदैलो, प्रचारप्रसार गर्ने कार्य तीवगतिमा अघि बढेका छन् ।
दलका नेता तथा कार्यकर्ता गाउँ पसेर पार्टी बैठक, चुनावी कार्यालय स्थापना र कोणसभामा जुटिरहेका छन् । दलले भोट आफ्नो पक्षमा पार्न यतिबेला मतदातासँग साइनो लगाउन ब्यस्त देखिएका छन् ।
भोट माग्दा हुल भएर दल आएपछि शहरमा भन्दा गाउँघरतिर बढी चहलपहल भएको मतदाता बताउँछन् । दलका उम्मेदवारसहित वडा, गाउँपालिका, निर्वाचन र जिल्ला तहका नेता तथा कार्यकर्ता भोट माग्न पसेपछि बस्तीमा चुनावी चहलपहल देखिन थालेको हो ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्लाका सबै तहमा चुनावी प्रचारमा जुटेपनि साना दलहरु समेत चुनावी चिह्न, झण्डा र प्रचार साम्रगी बोकेर गाउँ पसेका छन् । नौ दल चुनावी मैदानमा होमिएपछि यतिबेला गाउँघरमा चुनावी गतिविधि बढेको स्थानीय बासिन्दा बताउँछन् ।
नेपाली काँग्रेस जिल्ला सचिव झपिन्द्र गहिरेले गाउँतहमा बैठक, कोणसभा, पार्टी कार्यालय स्थापना, घरदैलो कार्यक्रम भइरहेको र पार्टी सचिव अजय कर्माचार्यको नेतृत्वमा प्रसारप्रसार समिति गठन, अर्का सचिव गहिरे आफ्नै नेतृत्वमा अनुगमन समिति गठन गरी काम अघि बढेको बताए । चुनावी माहोल सिर्जना गर्नका लागि दलले पार्टीका भ्रातृसंगठनका गाउँगाउँमा विशेष समिति गठन गरेका छन् ।
वाम गठबन्धनका निर्वाचन प्रचारप्रसार समितिका उपसंयोजक तथा माओवादी केन्द्रका नेता राजेन्द्र विश्वकर्माले संयुक्त कार्यकर्ता भेला, बैठक, कार्यालय स्थापना गरी जनतासँग घरदैलो अभियान चलिरहेको बताए । वाम गठबन्धनले चुनावका लागि विभिन्न समिति गठन गरी अघि बढेकाले कार्यकर्ता र जनतामा उत्साह आएको विश्वकर्माले बताए ।
नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार विजयराज घिमिरे, निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार हरिप्रसाद नेपाल र विजयराज घिमिरे तथा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेदवार दलबहादुर राना र निर्वाचन क्षेत्र २ मा सोमप्रसाद पाण्डेय जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका र वडास्तरमा पार्टी कार्यकर्ताका साथ चुनावी मैदानमा होमिएका छन् ।
पाल्पामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै कडा प्रतिष्पर्धा हुनेछ ।
संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ पाल्पा जिल्लामा नेकपा (एमाले)ले ४२ हजार ५५१, नेकपा (माओवादी केन्द्र)ले १४ हजार ८४८ र नेपाली काँग्रेसले ३८ हजार १९१ मत ल्याएका थिए ।
यसैगरी, २०७० को संविधान सभा निर्वाचन परिणामअनुसार वाम गठबन्धनको ५७ हजार ३९९ मत रहेको छ । काँग्रेसभन्दा १९ हजार २०८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता छन् ।
प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार १२:१८